Technology Khabar २१ मंसिर २०८२, आईतवार
काठमाडौं ।
जल तथा मौसमजन्य विपत्बाट जोगाउनका लागि तत्कालको मौसम पूर्वानुमान गर्न निर्माण गरिएको सुर्खेतको मौसमी राडार बिग्रेको तीन वर्ष भयो। मर्मत गर्न नसकिएको सो राडार चालु आर्थिक वर्षमा डेढ करोड रुपियाँ बजेट विनियोजन गरिएपछि आगामी वर्षायामदेखि सञ्चालनमा ल्याउने तयारी थालिएको छ।
विसं २०७६ मङ्सिर १७ गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१४, रातानाङ्लामा सो मौसमी राडार सञ्चालनमा ल्याइएको थियो।
विसं २०७९ मा चट्याङ परेर राडारका महत्त्वपूर्ण उपकरण बिग्रेको, जेनेरेटरमा पनि क्षति पुगेकाले बजेट अभावमा मर्मत हुन सकेको थिएन। मर्मतका लागि जल तथा मौसम विज्ञान विभागले पटक पटक सूचना आह्वान गर्दा पनि कसैले दरखास्त नहाल्दा मर्मत हुन सकेको थिएन। राडार बिग्रँदा मौसमजन्य विपत्का बेला तत्काल मौसमको पूर्वानुमान गर्ने काम ठप्प थियो।
जल तथा मौसम विज्ञान विभागको जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाको पहलमा अर्थ मन्त्रालयले सुर्खेतको मौसमी राडार मर्मत गर्न डेढ करोड छुट्याएको छ।
आयोजनाका प्रमुख नीराजन सापकोटाले सुर्खेतको मौसमी राडार मर्मत गर्नका लागि अर्थ मन्त्रालयले डेढ करोड बजेट सुनिश्चित गरेकाले आगामी वर्षायामदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको बताए।
उनले अमेरिकी कम्पनीले नेपाली एक कम्पनीसँग समन्वय गरी राडारको सामान ल्याउनेसम्झौता भएको र आगामी मध्य असारसम्म उपकरण ल्याइसक्ने जानकारी दिए।
मर्मत गर्न १५ दिनदेखि बढीमा एक महिना लाग्ने भएकाले साउनदेखि राडारलाई सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताए। सुर्खेतको राडारमा निकै महँगो र महत्त्वपूर्ण मानिने एमआरपी डिभाइससहित १२ वटा उपकरण बिग्रिएका छन्।
उक्त मौसमी राडार विश्व बैङ्कले करिब १८ करोडको लागतमा निर्माण गरिदिएको हो। निर्माणको केही वर्षसम्म राडार राम्रोसँग सञ्चालन भएको थियो तर २०७९ मा चट्याङ परेपछि राडार ठप्प भएको थियो।
आयोजना प्रमुख सापकोटाले बजेट सुनिश्चित भएसँगै राडार मर्मतको काम थालिने र आगामी साउनदेखि सञ्चालनमा आउनेमा विश्वस्त रहन आग्रह गरे। राडारमा प्रयोग हुने उपकरण नेपालमा पाइँदैन। अमेरिकी सामान मात्र उक्त राडारमा प्रयोग हुने गर्दछन्।
यस्तै जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख डा. इन्दिरा कँडेलले सुर्खेतको राडार मर्मतका लागि विभिन्न पहल भइरहेको जानकारी दिइन्। उहाँले राडार बिग्रँदा अहिले जल तथा मौसमजन्य विपत्को पूर्वानुमानको काम गर्न नसकिएको बताइन्।
एक दिनको तत्काल मौसम पूर्वानुमानसहितको सूचना दिने यस्ता राडार नेपालमा तीन वटा मात्र छन्। सुर्खेतको राडारले प्युठानदेखि पश्चिम क्षेत्रको कभर गर्दछ भने अर्को पाल्पा र उदयपुरमा रहेका छन्। दुई घण्टादेखि एक दिनभरको मौसम कस्तो छ, कस्तो विपत् आउँछ भन्ने कुराको पूर्वानुमान सो राडारले गर्दछ।
आजको गोरखापत्रबाट
प्रकाशित: २१ मंसिर २०८२, आईतवार