Technology Khabar १८ मंसिर २०८२, बिहीबार
काठमाडौं ।
ताइवानको इलेक्ट्रोनिक्स निर्माता फक्सकन अन्तर्गतको सहायक कम्पनी फुशान टेक्नोलोजीले भियतनाममा एक्सबक्स गेमिङ उपकरण र अन्य इलेक्ट्रोनिक पार्ट्स उत्पादन विस्तार गर्न अनुमति खोजिरहेको छ। यसबारे बाक निन्ह प्रान्तको वातावरण विभागलाई पठाएको कम्पनीको कागजातमा उल्लेख छ।
कम्पनीले फोन उत्पादन क्षमता ३ करोड युनिटले बढाएर वार्षिक कुल १४ करोड पुर्याउने योजना पनि बनाएको छ साथै स्मार्ट रिङका लागि चार्जिङ डिभाइस उत्पादन सुरु गर्ने जनाएको छ। स्मार्ट रिङ औंलामा लगाइने उपकरण हो, जसमा स्मार्टवाच र फिटनेस–ट्र्याकरका सुविधा हुन्छन्।
कारखानाको स्तरोन्नति सुरु भइसकेको र आगामी वर्ष अप्रिलदेखि पूर्ण सञ्चालन सुरु हुने कम्पनीले कागजातमा उल्लेख गरेको छ।
रोयटर्सका अनुसार पहिले नोकिया र माइक्रोसफ्टका मोबाइल उपकरण उत्पादनका लागि प्रयोग गरिएको फुशान टेक्नोलोजीको कारखानाले वर्षमा १ लाखवटा मानवरहित उडान यन्त्र (ड्रोन) उत्पादन गर्ने क्षमता पनि राख्छ। फुशान टेक्नोलोजी भियतनामले भने टिप्पणी गर्न अनुरोध गरिएकोमा तत्काल जवाफ दिएको छैन।
फक्सकन एप्पल, माइक्रोसफ्ट लगायत अन्य प्रविधि कम्पनीका लागि आपूर्तिकर्ता हो। कम्पनीले २००० दशकदेखि भियतनाममा प्रवेश गरेको र २०२४ सम्म देशमा ३.२ अर्ब डलरभन्दा बढी लगानी गरेको छ। कम्पनीका उत्पादन केन्द्रहरू मुख्यत: उत्तरी प्रान्तहरू बाक निन्ह र बाक जियाङमा रहेका छन्।
प्रकाशित: १८ मंसिर २०८२, बिहीबार