Technology Khabar १७ मंसिर २०८२, बुधबार
काठमाडौं ।
नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को चौथो महिना कार्तिक मसान्तसम्म १० लाख ६० हजार थानभन्दा बढी सिम कार्ड आयात भएको छ।
भन्सार विभागले हालै जारी गरेको उक्त अवधिसम्मको वैदेशिक व्यापार विवरण अनुसार उक्त अवधिमा ५ करोड २२ लाख ७५ हजार रुपैयाँ बराबरको १० लाख ६० हजार ९६२ थान सिम कार्ड आयात भएको छ।
सिम कार्ड आयातबाट सरकारले १ करोड २७ लाख १३ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।
भन्सार विभागको तथ्यांक अनुसार सिम कार्ड अस्ट्रेलिया, चीन, जापान, कुवेत, कतार, बेलायत, मेक्सिको, अमेरिका र डेनमार्क गरी विश्वका ९ देशबाट आएको देखिन्छ।
कार्तिकसम्म सबैभन्दा बढी अर्थात् १० लाख ९०५ थान सिम कार्ड चीनबाट नेपाल आएको छ। यसको समग्र मूल्य ५ करोड १३ लाख ७१ हजार परेको छ।
यसैगरी मेक्सिकोबाट ४ लाख २२ हजार बराबरको ४० हजार थान तथा बेलायतबाट ३ लाख ११ हजार बराबरको १० हजार २ थान सिम कार्ड आयात भएको तथ्याङ्कमा उल्लेख छ।
अष्ट्रेलियाबाट १ लाख ६० हजार बराबरको १० हजार थान, जापानबाट ३ हजार बराबरको ५० थान सिम कार्ड आएको छ। कतारबाट २ र कुवेत तथा डेनमार्कबाट १-१ थान सिम कार्ड आएको देखिएको छ तर यिनीहरुको मूल्य उपलब्ध छैन। संयुक्त राज्य अमेरिकाबाट पनि ७ हजार बराबरको एक थान सिम कार्ड आयात भएको देखिएको छ।
यस्तो छ विवरण
| क्र. सं. | देश | परिमाण | रकम हजारमा |
| १ | अस्ट्रेलिया | १०००० | १६० |
| २ | चीन | १०००९०५ | ५१३७१ |
| ३ | डेनमार्क | १ | ० |
| ४ | जापान | ५० | ३ |
| ५ | कुवेत | १ | ० |
| ६ | मेक्सिको | ४०००० | ४२२ |
| ७ | कतार | २ | ० |
| ८ | बेलायत | १०००२ | ३११ |
| ९ | अमेरिका | १ | ७ |
प्रकाशित: १७ मंसिर २०८२, बुधबार