Technology Khabar १६ मंसिर २०८२, मंगलवार
काठमाडौं ।
अमेजन र गुगलले आइतबार संयुक्त रूपमा विकास गरिएको नयाँ मल्टिक्लाउड नेटवर्किङ सेवा सार्वजनिक गरेका छन्। कम्पनीहरूले जारी गरेको विज्ञप्तिअनुसार खासगरी अहिले छोटो समयको अवरोधले पनि ठूलो असर पार्ने भएको अवस्थामा विश्वसनीय इन्टरनेट जडानको बढ्दो मागलाई पूरा गर्न यो सेवा सुरू गरिएको हो।
यो पहलले ग्राहकहरूलाई दुवै कम्पनीका कम्प्युटिङ प्लेटफर्मबीच निजी, उच्च–गति जडान केही मिनेटमै स्थापना गर्न सक्ने बनाउनेछ।
रोयटर्सका अनुसार यो नयाँ सेवा अक्टोबर २० का दिन भएको अमेजन वेब सर्भिसेज (एडब्लूएस) को अवरोधभन्दा एक महिनाभन्दा थोरै बढी समयपछि सार्वजनिक भएको हो।
उक्त अवरोधले विश्वभर हजारौं वेबसाइट प्रभावित पारेको थियो र स्न्यापच्याट तथा रेडिट जस्ता लोकप्रिय एपहरू केही समयका लागि अफलाइन भएका थिए। एनालिटिक्स फर्म प्यारामेट्रिक्सका अनुसार यस अवरोधले अमेरिकी कम्पनीहरूले ५०० मिलियनदेखि ६५० मिलियन डलरसम्म घाटा बेहोर्नु पर्नेछ।
दुवै क्लाउड प्रदायकहरूले जारी गरेको जानकारीअनुसार नयाँ सेवाले एडब्लूएसको इन्टरकनेक्ट-मल्टिक्लाउड र गुगल क्लाउडको क्रस-क्लाउड इन्टरकनेक्ट लाई संयोजन गरेर नेटवर्क अन्तरसञ्चालन क्षमतामा सुधार ल्याउनेछ।
“एडब्लूएस र गुगल क्लाउड बीचको यो सहकार्यले मल्टिक्लाउड जडानमा मौलिक परिवर्तन ल्याएको छ,” एडब्लूएसका नेटवर्क सेवाका उपाध्यक्ष रोबर्ट केनेडीले भने। गुगल क्लाउडका क्लाउड नेटवर्किङ उपाध्यक्ष तथा महाप्रबन्धक रोब एनसले संयुक्त नेटवर्कले ग्राहकहरूलाई डाटा र एप्लिकेसनहरू क्लाउडबीच सुलभ रूपमा सार्न मद्दत गर्ने बताए।
गुगल क्लाउड का अनुसार सेल्सफोर्स नयाँ दृष्टिकोणका प्रारम्भिक प्रयोगकर्तामध्ये एक हो। एडब्लूएसले कम्पनी, सरकार र उपभोक्ताहरुलाई कम्प्युटिङ शक्ति, डाटा भण्डारण र अन्य डिजिटल सेवाहरू उपलब्ध गराउँछ र विश्वकै सबैभन्दा ठूलो क्लाउड प्रदायक हो। त्यसपछि माइक्रोसफ्टको अज्युर र गुगल क्लाउड छन्।
अल्फाबेट, माइक्रोसफ्ट र अमेजन सहितका ठूला प्रविधि कम्पनीहरूले कृत्रिम बुद्धिमत्ताका बढ्दो मागका कारण इन्टरनेट ट्राफिक सम्हाल्न सक्षम पूर्वाधार निर्माण गर्न अरबौँ लगानी गरिरहेका छन्।
अमेजनको क्लाउड व्यवसायले गुगल को १५.१६ अर्ब डलरको आम्दानीभन्दा दोब्बरभन्दा बढी अर्थात् ३३ अर्ब डलर आम्दानी गर्दै तेस्रो त्रैमासिकमा मजबुत वृद्धि देखाएको छ।
प्रकाशित: १६ मंसिर २०८२, मंगलवार