ओखलढुङ्गामा अनलाइन सिफारिसबाटै नागरिकता वितरण

Technology Khabar १५ मंसिर २०८२, सोमबार

ओखलढुङ्गामा अनलाइन सिफारिसबाटै नागरिकता वितरण
सांकेतिक तस्बिर

काठमाडौं ।

ओखलढुङ्गामा नागरिकताको सिफारिस अब अनलाइन प्रणालीबाट थालिएको छ । अनलाइनमार्फत गरिएको सिफारिसबाटै नागरिकता वितरण गर्न थालिएको हो। परम्परागत कागजी प्रक्रिया हटाउँदै प्रविधिमैत्री सेवा सुरु भएपछि नागरिकता प्राप्ति झन्झटमुक्त र छिटोछरितो बनेको हो ।

जिल्लामै पहिलो पटक वडाबाट अनलाइन सिफारिस लिएर नागरिकता वितरण भएको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले बताए। चिशङ्खुगढी गाउँपालिका-३ का सन्तोष धौलाकोटीलाई आइतबार अनलाइन सिफारिसका आधारमा नागरिकता प्रदान गर्दै नयाँ प्रणाली औपचारिक रूपमा लागू गरिएको प्रमुख जिल्ला अधिकारी मग्रातीले बताए।

सिद्धिचरण नगरपालिका र चिशङ्खुगढी गाउँपालिकाका सबै वडामा मङ्सिर ११ गतेदेखि अनिवार्य अनलाइन सिफारिसमार्फत नयाँ नागरिकताको अनुसूची तयार गरिने व्यवस्था सुरु भइसकेको छ। नयाँ प्रणाली लागू भएसँगै सेवाग्राहीले अब सिफारिसका कागजात बोकेर जिल्ला वा इलाका प्रशासन कार्यालय धाउनुपर्ने छैन।

स्थानीय तहले सफ्टवेयरमा प्रविष्ट गरिदिएका विवरण गृह मन्त्रालय अन्तर्गत नागरिकता फाँटमा स्वचालित रूपमा पुग्ने भएकाले नागरिकता वितरण प्रक्रिया सहज र छरितो हुने प्रशासनले जनाएको छ।

आजको गोरखापत्रबाट

प्रकाशित: १५ मंसिर २०८२, सोमबार

तपाइको प्रतिक्रिया