
काठमाडौं ।
उपल्लो मुस्ताङमा हिमपातसँगै वासस्थान र आहाराको अभावका कारण वन्यजन्तु बस्तीनजिक आउन थालेपछि अनलाइनबाट निगरानी गर्न थालिएको छ।
निगरानी गर्न ती क्षेत्रमा क्यामरा जडान गरिएको छ। चरन क्षेत्रमा बाक्लो हिउँ जमेपछि बस्ती तथा गोठ आसपासमा झर्नै आहारा र सिकारी प्रजातिका वन्यजन्तुको निगरानीका लागि क्यामरा राखिएको हो।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय, ल्होमन्थाङले ल्होमन्थाङमा तीन वटा र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा दुई वटा क्यामरा जडान गरिएका छन्।
क्यामरा जडानपछि अनलाइनबाटै नियमित अनुगमन गर्न सकिने आयोजना प्रमुख उमेश पौडेलले बताए। उनले भने, “चरन क्षेत्रमा हिउँ जम्दा वन्यजन्तुको आहाराको कमी हुने गर्छ। आहारा खोज्न वन्यजन्तु बस्तीनजिक आउँदा मानव- वन्यजन्तु द्वन्द्व र चोरीसिकारीको सम्भावना धेरै हुन्छ । त्यसैले वन्यजन्तुको अनुगमन गर्नु परेको हो।”
एक्यापले वर्षभरि धेरै वन्यजन्तुको आवजावत हुने मार्गलाई केन्द्रित गरी थप तीन वटा क्यामरा जडान गर्ने तयारी गरेको छ। समुद्री सतहदेखि तीन हजार आठ सय मिटरदेखि चार हजार मिटर उचाइमा क्यामरा राखिएको छ।
हिमपातको मौसममा वन्यजन्तुलाई वासस्थानको सुरक्षा र पर्याप्त आहारा नै प्रमुख चुनौती मानिन्छ। आहारा प्रजातिको नाउर, हिमाली फ्याउ मुसा, झारल, घोरलले बस्ती आसपासका खेतबारीमा किसानले लगाएको बाली नष्ट गर्ने र सिकारी प्रजातिको हिउँचितुवा, जङ्गली कुकुरले वन्यजन्तुबाहेक पशुचौपायालाई आक्रमण गर्ने जोखिम हुने गर्छ।
चरन क्षेत्रबाट भौंतारिँदै बस्ती आसपासमा आउने वन्यजन्तुबाट चिसो मौसममा विशेष गरी मङ्सिरदेखि फागुनसम्म जोखिम रहने गर्छ। दुर्लभ मानिएको हिउँचितुवासमेत आहाराको खोजीमा बस्तीनजिक देखिन्छ।
एक्यापले जडान गरेको क्यामरानजिक वन्यजन्तुसमेत देखिन थालेका छन् । यसैबिच एक्यापले उच्च क्षेत्रमा आहाराको अवस्थाबारे समेत अनुगमन सुरु गरेको छ। इलाका कार्यालय ल्होमन्थाङ अन्तर्गत पर्ने वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ३ र ल्होमन्थाङ, लोघेकर दामोदरकुण्ड गाउँपालिका पर्छ। एक्यापले यसअगाडि हिउँचितुवाको वासस्थानमा समेत क्यामरा जडान गरी अनुगमन गरिरहेको छ।
वन्यजन्तु र पशुचौपाया छेक्ने एक्याप ल्होमन्थाङले चालु आर्थिक वर्ष २०६२/६३ मा ल्होमन्थाङ – २, अर्कामा ल्होमन्थाङ -३, नाम्याल र ल्होमन्थाङ -४, किमलिङमा खेती जोगाउन तारबारसमेत गरेको छ।
तारबारले मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरणमा समेत सघाएको छ। चरन क्षेत्रमा पर्याप्त आहारा नहुँदा वन्यजन्तु बस्ती आसपासका क्षेत्रमा आउने गरेकाले तारबार एक्यापको प्राथमिकतामा परेको छ।
त्यसै गरी एक्याप इलाका कार्यालय जोमसोमले समेत हिउँ जमेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका- १. मुक्तिनाथ क्षेत्रको उच्च हिमाली लेक र खर्कहरूमा वन गस्ती गरेको छ। थासाङ घरपझोङ, वारागुङ मुक्तिक्षेत्रका गाउँपालिका एक्याप इलाका कार्यालय जोमसोमको मातहतमा पर्छ। यसैबिच उपल्लो मुस्ताङमा चिसो बढेसँगै जनजीवन प्रभावित बन्न थालेको छ। आजको गोरखापत्रबाट
प्रकाशित: १२ मंसिर २०८२, शुक्रबार