स्मार्ट टेलिकमका पिडित व्यवसायी, कर्मचारी तथा घरधनीहरुले सञ्चार मन्त्री खरेललाई भेटे, समस्या समाधान गरिदिन माग

  • Technology Khabar | १२ मंसिर २०८२, शुक्रबार
स्मार्ट टेलिकमका पिडित व्यवसायी, कर्मचारी तथा घरधनीहरुले सञ्चार मन्त्री खरेललाई भेटे, समस्या समाधान गरिदिन माग

काठमाडौं ।

स्मार्ट टेलिकम बन्द भएसँगै पिडित भएका व्यवसायी, कर्मचारी तथा घरधनीहरुले सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेललाई भेटेका छन्।

आज सञ्चार मन्त्रालयमा गरिएको भेटमा उनीहरुले स्मार्ट टेलिकमलाई सरकारले अधिनमा लिएसँगै करिब २० हजार नेपालीहरुको रोजगारी गुमेको र करोडौं रुपैयाँको व्यवसाय गुमेको गुनासो गरेका थिए।

स्मार्ट कार्ड समूह, टावर राखेको घरबेटीहरुको समूह, भेन्डर समूह र स्मार्ट टेलिकममा काम गर्ने कर्मचारीहरुको समूह, लगायत सबै पीडितहरुको समूहको तर्फबाट आज सन्चार मन्त्री खरेललाई भेटेको एक व्यवसायीले जानकारी दिए। स्मार्ट समस्या समाधान समूहमा ५० जना पिडितहरु रहेका छन्।

उक्त भेटमा मन्त्री खरेलले कसैलाई अन्याय हुन नदिने बताएको एक सहभागीले जानकारी दिए।

“मन्त्री ज्यूले कसैलाई अन्याय हुन दिन्नौं,मसँग ६ महिनाको कार्यकाल छ ,४ महिना बाँकी छ, म नियामक निकायसँग पनि बुझ्छु अनि केही न केही राहत हुने खालको निर्णय लिन्छौं भन्नु भयो,” ती सहभागीले भने, “हामी आशावादी छौं पक्कै उहाँले केही सकारात्मक कदम चाल्नु हुन्छ।”

उनीहरुले मन्त्रीसँगको भेटमा आफ्नो समस्या र गुनासोहरु जानकारी गराएका थिए।

स्मार्ट बन्द हुँदा प्रत्यक्ष र अप्रत्यक्ष गरेर लगभग २०००० नेपाली हरुको रोजगारी गुमेको। स्मार्ट कार्ड र सिम कार्ड को पैसा हामी व्यवसायी हरुले नगदमा किनेको र स्मार्ट बन्द हुँदा सबै गरेर करोडौंको लगानी डुबेको बजारमा अहिलेपनि २५ करोड रुपैयाँको कार्ड व्यवसायीसँग रहेको तर भुक्तानी नभएको घरमा राखिएको टावरहरुमा जोडिएको बत्तिको भुक्तानी नदिँदा घरमानै विद्युत काटिएको कर्मचारीहरुले जागिर गुमाउनुपरेको लगायतका विषयहरु बारेमा छलफल भएको बताईएको छ।

स्मार्टका कार्ड बिक्रेताहरुकाअनुसार बजारमा २५ करोड रुपैयाँ बराबरको रिचार्ज कार्ड छ जुन बैंकबाट ऋण लिएर नगदमा किनेका थिए जसको ब्याज २.५ बर्षदेखि तिरी राखेका छन्।

केहि समयअघिमात्रै सरकारले स्मार्टको मूल्यांकन गर्न भनेर मूल्यांकन समिति गठन गरेको छ। हाल उक्त समितिले कम्पनीको सम्पत्ति र दायित्व लगायतका विषयमा मूल्यांकन गरिरहेको बताईएको छ।

प्रकाशित: १२ मंसिर २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार