चिनियाँ अन्तरिक्ष संस्थाद्वारा निजी क्षेत्र र अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धन गर्ने योजना सार्वजनिक

  • Technology Khabar | ११ मंसिर २०८२, बिहीबार
चिनियाँ अन्तरिक्ष संस्थाद्वारा निजी क्षेत्र र अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धन गर्ने योजना सार्वजनिक

काठमाडौं ।

चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनले आगामी दुई वर्षका लागि निजी अन्तरिक्ष क्षेत्रलाई प्रोत्साहन गर्ने र अन्तर्राष्ट्रिय सहकार्य बढाउने उद्देश्यसहित विस्तृत योजना सार्वजनिक गरेको छ।

कार्ययोजनामा निजी अन्तरिक्ष संस्थाहरूलाई विदेशी बजारमा प्रवेश गर्न र विकासोन्मुख देशहरूलाई भूउपग्रह प्रविधि निर्माणमा सहयोग गर्न आमन्त्रण गरिएको छ।

संस्थाले निजी अन्तरिक्ष परियोजनाहरूलाई चीनको अन्तर्राष्ट्रिय सहकार्य कार्यक्रम भित्र समावेश गर्ने प्रतिवद्धता जनाएको छ।

योजनाअनुसार, निजी क्षेत्रका लागि नागरिक नियन्त्रण, सञ्चार केन्द्र, डाटा सङ्कलन तथा परीक्षण क्षेत्रका साथै रकेट इञ्जिन परीक्षण स्थल र अन्तरिक्ष वातावरण अनुकरण गर्ने प्रयोगशाला उपलब्ध गराइनेछ।

खुला प्रतिस्पर्धा मार्फत छानिएका निजी संस्थाहरूलाई उन्नत इन्धन प्रणाली, नयाँ पुस्ताका भूउपग्रह संरचना र उपकरण साथै सञ्चार, मार्गनिर्देशन र दूरदर्शन प्रबन्धजस्ता महत्वपूर्ण परियोजनामा सहभागी गराइनेछ।

संस्थाले राष्ट्रिय निजी अन्तरिक्ष विकास कोष स्थापना गर्ने र सरकारी खरिद प्रक्रियामा भूउपग्रह, प्रक्षेपण स्थल समावेश गर्ने योजना पनि अघि सारेको छ।

स्थानीय सरकारहरूलाई पुनः प्रयोग गर्न मिल्ने रकेट र स्मार्ट भूउपग्रह सम्बन्धी प्रविधि केन्द्र स्थापना गर्न साथै परीक्षणका लागि खुला मंच निर्माण गर्न निर्देशन दिइएको छ।

योजनामा निजी प्रक्षेपण स्थल निर्माण, अन्तरिक्ष मापदण्ड एकीकरण, र अन्तरिक्ष फोहोर सम्बन्धी जानकारी निजी क्षेत्रका लागि खुला गर्ने व्यवस्था समेत समावेश गरिएको छ। यसले निजी अन्तरिक्ष यानका लागि टक्कर चेतावनी प्रणालीलाई प्रभावकारी बनाउनेछ।

निजी संस्थाहरूलाई अन्तरिक्ष स्रोत उपयोग, कक्षमा मर्मत सेवा, फोहोर हटाउने प्रविधि, अन्तरिक्ष पर्यटन र अन्तरिक्षमै जैविक उत्पादन जस्ता क्षेत्रमा अगाडि बढ्न प्रोत्साहित गरिएको छ।

यस कार्ययोजनाको लक्ष्य सन् २०२७ सम्म निजी अन्तरिक्ष क्षेत्रको उच्चस्तरीय विकास सुनिश्चित गर्नु हो । साथै, चीनको १५औँ पञ्चवर्षीय योजना (सन् २०२६/२०३०) मा अन्तरिक्ष क्षेत्रलाई रणनीतिक उदीयमान उद्योगको रूपमा उल्लेख गरिएको छ। रासस/सिन्ह्वा

प्रकाशित: ११ मंसिर २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार