
काठमाडौं ।
युरोपेली अटोमोटिभ बजारको इतिहासमा पहिलो पटक प्लग–इन हाइब्रिड भेहिकल्स (सवारी साधनहरू) को बिक्रीले डिजेल सवारी साधनहरूको बिक्रीलाई उछिनेको छ।
यो ऐतिहासिक परिवर्तनले उपभोक्ताहरू बढ्दो रूपमा “स्वच्छ” र वातावरणमैत्री सवारी साधनहरूतर्फ सर्दैछन् भन्ने तथ्य देखाएको उल्लेख गरिएको छ।
प्लग–इन संस्करणहरू सहित हाइब्रिडहरूले अब युरोपमा नयाँ कार बिक्रीको लगभग ३४.७ प्रतिशत हिस्सा ओगटेका छन् भने पेट्रोलबाट चल्ने सवारी साधनहरूले २६.९ प्रतिशत र विद्युतीय सवारी साधनहरूले १८.३ प्रतिशत हिस्सा ओगटेको बताइएको छ। डिजेलबाट चल्ने सवारी साधनहरूको हिस्सा भने केवल ८ प्रतिशतमा झरेको र लोकप्रियतामा उल्लेखनीय क्षति पुर्याएको उल्लेख गरिएको छ।
यो प्रवृत्ति कडा उत्सर्जन नियमहरू, विद्युतीकृत सवारी साधनहरूको लागि सरकारी वित्तीय प्रोत्साहनहरू र डिजेल इन्जिनहरूको प्रतिष्ठालाई क्षति पुर्याएको कुख्यात “डिजेलगेट” काण्डसँग जोडिएको विज्ञहरूको भनाइ रहेको छ।
युरोपेली संघले २०३५ सम्ममा परम्परागत कम्बसन कारहरूको बिक्रीमा प्रतिबन्ध लगाउने योजना बनाउँदै शून्य–उत्सर्जन सवारी साधनहरूको पूर्ण ट्रान्जिसनतर्फ बढि रहेको बताइएको छ।
यो परिवर्तनले युरोपेली अटोमोटिभ उद्योगको लागि नयाँ बाटो औंल्याएको र हाइब्रिडका साथै विद्युतीय प्रविधिहरूको लोकप्रियतामा द्रुत वृद्धिलाई हाइलाइट गरेको टेलिग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: ११ मंसिर २०८२, बिहीबार