पर्सिभेरन्स रोभरले मङ्गल ग्रहको सतहमा ओर्लिएको पाँच वर्षपछि यसरी फेला पार्यो सम्भावित उल्कापिण्डको ढुङ्गा

  • Technology Khabar | ११ मंसिर २०८२, बिहीबार
पर्सिभेरन्स रोभरले मङ्गल ग्रहको सतहमा ओर्लिएको पाँच वर्षपछि यसरी फेला पार्यो सम्भावित उल्कापिण्डको ढुङ्गा
फाइल तस्बिर

काठमाडौं ।

नासाको पर्सिभेरन्स रोभरले मङ्गल ग्रहको सतहमा सम्भावित उल्कापिण्डको ढुङ्गा फेला पारेको छ।

नासाले नोभेम्बर १३ मा प्रकाशित एक ब्लगपोस्ट अनुसार, पर्ड्यू विश्वविद्यालयकी वैज्ञानिक क्यान्डिस बेडफोर्डले लेखेको रिपोर्टमा रोभरले असाधारण रूपमा “कुँदिएको जस्तो देखिने, वरपरका सपाट र चुरिएको ढुङ्गाभन्दा अग्लो” ढुङ्गा भेट्टाएको उल्लेख छ। यसले वैज्ञानिकको ध्यान तुरुन्तै तान्यो।

रोभरले ‘फिप्साक्स्ला’ नाम दिइएको उक्त ढुङ्गालाई पहिलोपटक सेप्टेम्बर २ मा आफ्नो मास्टक्याम–जेट–जुम क्यामराबाट देखेको थियो। सो दिन मङ्गल ग्रहमा रोभरको १६१२औँ ‘सोल’ (मङ्गल ग्रहको एक दिन) थियो।

त्यसपछि रोभरले सुपरक्याम नामको लेजर उपकरण प्रयोग गरी करिब ३१ इन्च (८१ सेमी) लामो उक्त ढुङ्गा फलाम र निकेलबाट बनेको पुष्टि गर्‍यो। यो संरचना सूर्य प्रणालीका ठूला एस्टेरोइडका केन्द्र भागमा पाइने संरचनासँग मिल्दोजुल्दो छ। यदि यसको उत्पत्ति पुष्टि भयो भने, फेब्रुअरी १८, २०२१ मा मङ्गलमा अवतरण गरेपछि पर्सिभेरेन्सले भेट्टाएको यो पहिलो उल्का ढुङ्गा हुनेछ।

स्पेस डटकमका अनुसार क्षुद्रग्रहहरूलाई सूर्य प्रणाली बनेको ४.५ अर्ब वर्षअघि बाँकी बचेको पदार्थ मानिन्छ। ती ठूला चट्टानका टुक्राबाट बनेका हुन्छन्। तीबाट छुटेका साना चट्टानलाई ‘मिटियोराइड’ भनिन्छ र ती ग्रह वा चन्द्रमाको सतहमासम्म आइपुग्दा ‘मिटियोराइट’ अर्थात् उल्कापिण्ड भनेर चिनिन्छ।

पर्सेभेरेन्सको टिमले विज्ञान लक्ष्यहरूलाई सजिलै चिन्न सकियोस् भनेर उपनाम राख्ने गर्छ। यस पटक भेटिएको ढुङ्गालाई ‘फिप्साक्स्ला’ भनेको छ, जुन नर्वेको स्वालबार्ड क्षेत्रको नाम हो। ढुङ्गा भेटिएको स्थान ‘भेर्नोडेन’ पनि स्वालबार्डकै क्षेत्रबाट प्रेरित नाम हो।

यो पर्सिभेरन्सले भेटाएको पहिलो शङ्कास्पद उल्का ढुङ्गा भए पनि मङ्गल ग्रहमा पहिले धेरै उल्का ढुङ्गाहरू भेटिएका छन्। २०१२ देखि सक्रिय क्युरियोसिटी रोभरले गले क्रेटर र माउण्ट शार्प क्षेत्रमा धेरै फलाम–निकेलयुक्त उल्का ढुङ्गा फेला पारेको छ। उल्लेखनीय रूपमा २०१४ को एक मिटर आकारको ‘लेबनन’ उल्का ढुङ्गा र २०२३ मा भेटिएको ‘काकाओ’ नामक ढुङ्गा पनि यस्तै हुन्।

यसअघि मङ्गलमा काम गरेका अपोर्चुनिटी (२००४–२०१८) र स्पिरिट (२००४–२०११) रोभरहरूले पनि धेरै उल्का ढुङ्गा भेटाएका थिए। त्यसैले वैज्ञानिकहरू पर्सिभेरन्सले लामो समयसम्म उल्का ढुङ्गा नपाएकोमा आश्चर्य मानिरहेका थिए।

पछिल्लो वर्षदेखि पर्सिभेरन्सले आफ्नो अवतरण स्थल जेहेडो क्रेटरको किनाराहरूको बिस्तृत अध्ययन गरिरहेको छ। बेडफोर्डका अनुसार जेहेडो क्रेटरको उमेर र प्रभाव क्रेटरहरूको संख्याका आधारमा यहाँ धेरै उल्का ढुङ्गा भेटिनुपर्ने अपेक्षा थियो।

यद्यपि उल्का खोज्नु पर्सिभेरन्सको मुख्य काम होइन। यसको प्रमुख मिशन भनेको मङ्गलमा प्राचीन जीवनका सम्भावित संकेत खोज्नु र भविष्यमा पृथ्वीमा ल्याउन सकिने नमुना सङ्कलन गर्नु हो।

गत महिनामात्र नासाले रोभरले अवसाद र जैविक पदार्थबीच घुलनशील रासायनिक प्रतिक्रियालाई सूचक देखिने केही रासायनिक प्रमाण भेटेको बताएको थियो। तर निश्चित निष्कर्षका लागि नमुनालाई पृथ्वीमा ल्याएर अध्ययन गर्नुपर्ने नासाले जनाएको छ।

प्रकाशित: ११ मंसिर २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार