रुकुमपश्चिममा मतदाता नामावलीमा अनलाइनबाट नाम दर्ता गर्ने बढी

Technology Khabar ९ मंसिर २०८२, मंगलवार

काठमाडौं ।

रुकुमपश्चिममा दुई हजार आठ सयभन्दा बढी मतदाता थपिएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार गत असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म जिल्लामा कुल दुई हजार ८३७ जना नयाँ मतदाता थपिएका हुन्। थपिएका मतदातामध्ये अनलाइनमार्फत नामावली दर्ता गर्ने बढिरहेका छन्।

निर्वाचन कार्यालयका प्रमुख मोहन केसीका अनुसार फागुन २१ गतेका लागि तोकिएको निर्वाचनका लागि सरकारले सुरुमा कात्तिक मसान्तसम्मका लागि मतदाता नामावली दर्ताको समय तोकेको थियो।

मतदाता नामावली दर्ता गर्नेको भिड देखिन थालेपछि पाँच दिन समय थप भएको थियो। उक्त समय मङ्सिर ५ गते शुक्रबार सकिएको छ। यस अवधिमा नागरिकताभन्दा राष्ट्रिय परिचयपत्रबाट मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या धेरै रहेको कार्यालय प्रमुख केसीले जनाए।

कार्यालयमै पुगेर नागरिकताबाट एक हजार २३५ जनाले नामावलीमा नाम दर्ता गरेका छन् भने राष्ट्रिय परिचयपत्रका आधारमा घरबाटै वा निर्वाचन कार्यालय नपुगी एक हजार ५९९ जनाले नामावलीमा नाम दर्ता गराएका छन्।

जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर जयराम केसीले अनलाइनमार्फत नाम दर्ता गराएकाहरूको परीक्षण चलिरहेकाले र दोहोरिएकाको सङ्ख्या घट्न सक्ने बताए।

निर्वाचन कार्यालयमा नामावली दर्ता गराउनेको भिड बढ्न थालेपछि नयाँ मतदाताको सङ्ख्या बढाउन सरकारले कात्तिक २६ गते राष्ट्रिय परिचयपत्र भएकाका लागि राष्ट्रिय परिचयपत्रकै आधारमा घरमै बसेर अनलाइनमार्फत नामावली दर्ताको व्यवस्था मिलाएको थियो। सोही अनुसार जिल्लामा पनि ठुलो सङ्ख्यामा मतदाता थपिएका हुन्।

जिल्लामा थपिने मतदातामा अधिकांश युवा रहेको बताइएको छ। जिल्ला निर्वाचन कार्यालयबाट यो अवधिमा १३९ जनाले त्रुटि सच्याएका छन् भने २२९ जनाले ठाउँसारी गरेका छन्।

जिल्लामा नयाँ थपिएकाबाहेक कुल मतदाता सङ्ख्या एक लाख चार हजार २३९ रहेको छ। जसमा पुरुष ५२ हजार ७५८ जना रहेका छन् भने महिला ५१ हजार ४५० तथा अन्य मतदाता एक जना रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

आजको गोरखापत्रबाट 

प्रकाशित: ९ मंसिर २०८२, मंगलवार

तपाइको प्रतिक्रिया