Technology Khabar ९ मंसिर २०८२, मंगलवार
काठमाडौं ।
कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गामले ताप्लेजुङमा स्थापना भएको आइटी एकेडेमी नेपालमै नमुना भएको बताए। सूचना प्रविधिको क्षेत्रमा अब्बल जनशक्ति उत्पादन गराउन सफल आइटी एकेडेमी नमुना भएको मन्त्री हाङ्गामले बताएका हुन्।
शनिबार आइटी एकेडेमीको दोस्रो वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री हाङ्गामले आइटी सिपलाई विश्व बजारसम्म सदुपयोग गरी व्यावसायिक र स्वरोजगार बन्न सकिने सकारात्मक सन्देश आइटी एकेडेमीले प्रवाह गरेको बताए।
उनले सूचना प्रविधिको क्षेत्रमा दक्ष र अब्बल जनशक्ति उत्पादन गर्ने थलोका रूपमा आइटी एकेडेमी स्थापना गरी लगानी गर्नु उचित भएको धारणा व्यक्त गर्नुभयो। उनले भने “यसलाई संरक्षण र व्यवस्थित गर्न सबैले सहयोग गर्नु पर्छ।”
उनले यो संस्थाले स्थानीय सरकारलाई आवश्यक सहयोग गर्न आग्रह पनि गरे। आइटी एकेडेमीका लागि चालु आवमा प्रदेश सरकारका तर्फबाट ३९ लाख रुपियाँ बजेट विनियोजन गरेको हाङ्गामले जानकारी दिए।
वार्षिक उत्सव कार्यक्रममा आइटी एकेडेमीका संस्थापक डेनमार्कका नागरिक वाल्डेम्बर स्मिथले आफूले सोचेको उद्देश्य अनुरूपकै मार्गमा आइटी एकेडेमीले प्रगति गरिरहेको देख्दा आफू सन्तुष्ट भएको बताए। उनले आइटी एकेडेमीको उज्ज्वल भविष्य सुनिश्चित गर्न सबैको थप साथ, सहयोग र सहकार्यको अपेक्षासमेत गरे।
एकेडेमीमार्फत सिप प्रदान गर्दै आएका आइटी विज्ञ बङ्गलादेशी नागरिक अनिक हुसेनले आइटी विज्ञता र सिप हासिलका लागि ताप्लेजुङमा स्थापित आइटी एकेडेमी थप व्यवस्थित र निरन्तर सञ्चालन हुने विश्वास व्यक्त गरे। आफू र आफू जस्तै शिक्षण सहजकर्तामार्फत दीक्षित भएकाले व्यावसायिक रूपमा गरेको प्रगति लोभलाग्दो रहेको उनको भनाइ थियो।
जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले पनि आइटी एकेडेमी अब युवा पुस्ताको आशा र भरोसाको केन्द्र बनिरहेको बताए।
प्रकाशित: ९ मंसिर २०८२, मंगलवार