Technology Khabar ९ मंसिर २०८२, मंगलवार
काठमाडौं ।
अमेरिकाका एक डेमोक्रेटिक सिनेटरले सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टिकटकका चिनियाँ मालिकहरूले छोटो भिडियो एपका अमेरिकी सम्पत्तिको बहुमत हिस्सा बेच्ने योजनासम्बन्धी मुख्य विवरण स्पष्ट गर्न आग्रह गरे।
ट्रम्पले सेप्टेम्बर २५ मा एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै टिकटकका अमेरिकी सञ्चालनहरू अमेरिकी र विश्वस्तरीय लगानीकर्ताहरूको समूहलाई बेच्ने योजना २०२४ को कानुनले तोकेको राष्ट्रिय सुरक्षाको आवश्यकतामा पुग्ने बताएका छन् र लेनदेन पूरा गर्न १२० दिन समय दिएका छन्।
त्यसैले उनले चिनियाँ कम्पनी बाइटडान्सले एप नबेचेका खण्डमा १७० लाख अमेरिकीले प्रयोग गर्दै आएका यस एपमाथि लागू हुने प्रतिबन्धजन्य कानुनको कार्यान्वयन जनवरी २० सम्मका लागि सारिदिए।
रोयटर्सका अनुसार सिनेटर एड मार्कीले व्हाइट हाउसले धेरै महत्वपूर्ण प्रश्नहरूको जवाफ नदिएको र २०२४ को कानुन पालना नगरेको आरोप लगाए।
“लगातार अवैध रूपमा समय सीमा बढाएको र सम्झौताबारे गरिएको अस्पष्ट टिप्पणीहरूले तपाईंले टिकटकलाई सञ्चालनमा राख्ने र बाइटडान्सको स्वामित्वसँग सम्बन्धित राष्ट्रिय सुरक्षा चिन्ताहरू समाधान गर्ने कुनै सहमति सुरक्षित गर्न सक्नुभएको छ कि छैन भन्ने गम्भीर प्रश्न उठाएको छ,” मार्कीले सोमबार ट्रम्पलाई लेखेको पत्रमा भने।
“कांग्रेस र अमेरिकी जनताले सम्झौताका शर्तहरू र यसको अवस्थाबारे स्पष्ट बुझ्न आवश्यक छ।”
व्हाइट हाउसले यसबारे गरेको टिप्पणी अनुरोधमा तत्काल प्रतिक्रिया नदिएको रोयटर्सले उल्लेख गरेको छ। ट्रम्पको आदेशले एल्गोरिदमलाई पुनः तालिम दिइने र अमेरिकी कम्पनीका सुरक्षा साझेदारहरूले निगरानी गर्ने बताएको छ र एल्गोरिदमको सञ्चालन नयाँ संयुक्त उपक्रमको नियन्त्रणमा रहनेछ।
मार्कीले प्रशासनले अनुमति दिएको दावी गरे पनि चीनले यो सम्झौतामा स्वीकृति दिएको हो कि होइन भन्ने प्रश्न उठाए।
“यदि टिकटक यूएसले बाइटडान्सबाट एल्गोरिदम लाइसेन्स लिँदै पुनः तालिम दिंदैछ भने, के यो स्रोत कोडको एकपटकको हस्तान्तरण मात्र हो वा नियमित रूपमा लाइसेन्स नवीकरण गर्नुपर्छ?” मार्कीले सोधे। “बाइटडान्सले एल्गोरिदममा गरेको कुनै परिवर्तनले टिकटक यूएसले लाइसेन्स लिएको एल्गोरिदममा असर गर्छ?”
२०२४ को कानुनका आवश्यकताअनुसार बाइटडान्सले टिकटक यूएसमा २० प्रतिशतभन्दा कम हिस्सा राख्नेछ।
प्रतिनिधि सभाका चीनसम्बन्धी चयन समितिका रिपब्लिकन अध्यक्ष जोन मोलनारले अक्टोबरमा बाइटडान्सले टिकटकका अमेरिकी सम्पत्ति बेच्ने सम्झौतामा एल्गोरिदम प्रयोगका लागि लाइसेन्स दिने व्यवस्था राखेमा “गम्भीर चिन्ताहरू” उठ्ने बताएका थिए।
प्रकाशित: ९ मंसिर २०८२, मंगलवार