प्रयोगकर्तामाझ चर्चित हुँदै एक्सको नयाँ “अबाउट दिस एकाउन्ट” फिचर

Technology Khabar ९ मंसिर २०८२, मंगलवार

काठमाडौं ।

एक्सको नयाँ “अबाउट दिस एकाउन्ट” फिचर प्रयोगकर्तामा राम्रै चर्चित भएको देखिन्छ तर यसको डाटा पूर्ण रूपमा भरपर्दो नहुन सक्ने संकेतहरू देखा परेका छन्।

एक्सले हालै सुरु गरेको यो फिचरले प्रयोगकर्ताले कहिले खाता खोले, कसरी एप डाउनलोड गरेजस्ता जानकारी दिन्छ। तर सबैभन्दा धेरै ध्यान त भौगोलिक स्थान अर्थात् लोकेशनले पाउँदैछ।

वामपन्थी इन्फ्लुएन्सर माइका एर्फानले जापान, न्युजिल्यान्ड, पाकिस्तान र थाइल्यान्डमा आधारित देखिने धेरै “अमेरिका फर्स्ट” वा एमएजीए खाताहरूको तस्वीर साझा गर्दै लेखे, “यो त अनलाइन दायाँ धारका लागि पूर्ण विनाशजस्तै हो।”

धेरैजसो विवाद उत्पन्न गरिरहेका खाता साना छन्, जस्तै पाकिस्तानमा आधारित देखिने @अमेरिकन नामको खाता। तर केही खातामा हजारौँ वा लाखौँ फलोअर पनि छन्।

टेकक्रञ्चका अनुसार एक्सका प्रोडक्ट निर्देशक निकिता बियरले शनिबार यो फिचर विश्वव्यापी रूपमा लागू भइरहेको बताउँदै यसलाई “वैश्विक डिजिटल सार्वजनिक चौकको अखण्डता सुनिश्चित गर्ने पहिलो महत्त्वपूर्ण कदम” भएको बताइन्।

तर केही प्रयोगकर्ताले आफ्नो देखिएको स्थान पूर्ण रूपमा गलत भएको गुनासो गरेका छन्। बियरले पनि “पुराना खाताका लागि डाटा शत प्रतिशत शुद्ध छैन” भन्दै केही समस्या मंगलबारसम्म समाधान हुने बताए।

द भर्जले उल्लेख गरेअनुसार अमेरिकाबाहिर रहेका ‘रेज-बेट’ वा ‘ट्रोल फार्म’ खाताहरू वास्तवमै भए पनि फिचरले देखाएका थुप्रै स्थान शंका लाग्दा देखिन्छन्। विश्वव्यापी रूपमा काम गर्ने वा यात्रा गर्ने टिमहरू भीपीएन वा पुरानो आईपी ठेगानाका कारण स्थान गलत देखिन सक्ने अनुमान छ।

प्रकाशित: ९ मंसिर २०८२, मंगलवार

तपाइको प्रतिक्रिया