Technology Khabar ८ मंसिर २०८२, सोमबार
काठमाडौं ।
संयुक्त अरब इमिरेट्स (यूएई) ले शनिबार अफ्रिकाभर एआई पूर्वाधार र एआई–आधारित सेवाहरू विस्तार गर्न १ अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ। यसको उद्देश्य त्यस क्षेत्रका देशहरूले आफ्ना राष्ट्रिय विकास प्राथमिकता पूरा गर्नमा मद्दत गर्नु रहेको बुझिएको छ।
यूएईका राज्यमन्त्री सइद बिन मुबारक अल हाजेरीले जोहानेसबर्गमा भएको जी–२० शिखर सम्मेलनमा “विकासका लागि एआई पहल” घोषणा गर्दै यसले शिक्षा, स्वास्थ्य सेवा र जलवायु अनुकूलनजस्ता क्षेत्रमा एआई प्रविधि पुर्याउने बताए।
“हामी एआईलाई भविष्यको उद्योग मात्र होइन, मानवताको भविष्यको आधारस्तम्भको रूपमा हेर्छौँ,” उनले विज्ञप्तिमा भने। “त्यसैले मेरो देश उत्पादकता बढाउन र विश्व अर्थतन्त्रमा महत्त्वपूर्ण प्रगति ल्याउन नवप्रवर्तनलाई तीव्र बनाइरहेको छ। हामी सबैकाे हितका लागि जिम्मेवार र समावेशी एआई विकास गर्न दृढ प्रतिबद्ध छौँ,” उनले जोड दिए।
रोयटर्सका अनुसार यूएई अफ्रिकामा सबैभन्दा ठूलो लगानीकर्तामध्ये एक हो। २०२४ मा दुवै देशबीचको व्यापार करिब १०७ अर्ब डलर पुगेको थियो, जुन अघिल्लो वर्षभन्दा २८ प्रतिशत बढी हो र २०२० देखि २०२४ सम्म अफ्रिकामा कुल लगानी ११८ अर्ब डलरभन्दा बढी रहेको विज्ञप्तिमा उल्लेख छ।
अबुधाबीले एआई क्षेत्रमा ठूलो लगानी गरिरहेको छ जसअन्तर्गत अमेरिकी प्रविधि प्रयोग गरेर विश्वकै सबैभन्दा ठूलो डाटा–सेन्टर हबमध्ये एक निर्माण गर्ने योजना छ। यूएई जी–२० का सदस्य नभए पनि दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले निमन्त्रणा दिएपछि यो बैठकमा सहभागी भएको हो। यो पहिलो पटक अफ्रिकामा जी–२० शिखर सम्मेलन आयोजना गरिएको हो।
प्रकाशित: ८ मंसिर २०८२, सोमबार