Technology Khabar ७ मंसिर २०८२, आईतवार
काठमाडौं ।
लागुऔषध दुर्व्यसन नियन्त्रणमा सहयोग गर्ने उद्देश्यसहित सिरहाको नवराजपुर गाउँपालिकाले प्रहरीलाई १२० थान लागुऔषध परीक्षण कीट हस्तान्तरण गरेको छ।
शनिबार नवराजपुरमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष शिवउदगार यादवले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलमार्फत सुरक्षा निकायलाई कीट हस्तान्तरण गरेका हुन्।
कीट हस्तान्तरण गर्दै अध्यक्ष यादवले समुदायमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बनेको उल्लेख गर्दै यसको नियन्त्रण तथा रोकथामका लागि सबैले सहयोग गर्नुपर्ने बताए। उनले भने, “लागुऔषधले व्यक्ति मात्र नभई परिवार र समाजलाई समेत तहसनहस बनाइदिन्छ। त्यसको दलदलमा युवाहरू फस्दै गएका छन्। यसलाई रोक्न सबै पक्ष एकताबद्ध हुन आवश्यक छ।”
परीक्षण कीट ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले गाउँपालिकाको पहलले जिल्लामा दुर्व्यसन नियन्त्रणको अभियानलाई थप गति दिने विश्वास व्यक्त गरे। “परीक्षण तथा निगरानी प्रणाली मजबुत भएपछि अनुगमन, सचेतना र कानुन कार्यान्वयन झनै प्रभावकारी बन्छ”, उनले भने।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माले कीटको प्रयोगले लागुऔषध प्रयोगकर्ता पहिचान गर्न सहज हुने बताए। उनले यस्ता कीटको नियमित प्रयोगले जिल्लामा दुव्र्यसनको दर घटाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।
दक्षिण सीमावर्ती क्षेत्रमा गाउँपालिकाले परीक्षण कीट उपलब्ध गराएपछि अब गाउँभित्र लागुऔषध सेवन तथा अवैध कारोबार नियन्त्रणमा सहज हुने अपेक्षा गरिएको छ।-रासस
प्रकाशित: ७ मंसिर २०८२, आईतवार