Technology Khabar ६ मंसिर २०८२, शनिबार
काठमाडौं ।
आईबीएम र सिस्को सिस्टम्सले २०३० को अन्त्यसम्म धेरै लामो दूरीमा क्वान्टम कम्प्युटरहरू जोड्न सकिने भनेर प्रमाणित गर्ने लक्ष्यसहित यस्तो नेटवर्क तयार गर्ने योजना बनाएका छन्।
यो कदमले क्वान्टम इन्टरनेटको मार्ग खोल्न सक्छ तर दुवै कम्पनीका अधिकारीहरूले अहिले अस्तित्वमै आउन नसकेका केही प्रविधि आवश्यक पर्ने भएकाले विश्वविद्यालय र संघीय प्रयोगशालाहरूको सहयोगमा ती विकास गर्नुपर्ने बताएका छन्।
क्वान्टम कम्प्युटरले भौतिकशास्त्र, रसायनशास्त्र र कम्प्युटर सुरक्षा सम्बन्धी समस्याहरू समाधान गर्ने क्षमता राख्छन्, जुन कामका लागि अहिलेका कम्प्युटरलाई हजारौं वर्ष लाग्न सक्छ।
रोइटर्सका अनुसार यिनीहरूमा त्रुटि हुने सम्भावना धेरै भएकाले विश्वसनीय प्रणाली बनाउनु चुनौतीपूर्ण छ। आईबीएम, अल्फाबेटको गुगल र अन्य कम्पनीहरूले त्यसकै विकासमा काम गरिरहेका छन्। आईबीएमले २०२९ सम्म सञ्चालन गर्न सकिने मेसिन बनाउने लक्ष्य राखेको छ।
यस वर्षको सुरुमै सिस्कोले क्वान्टम मेसिनहरू कसरी जडान गर्ने भनेर अध्ययन गर्न एक प्रयोगशाला खोलेको थियो।
चुनौतीको मूल समस्या क्वान्टम कम्प्युटरको संरचनाबाट सुरु हुन्छ। आईबीएम जस्ता क्वान्टम कम्प्युटर विशाल क्रायोजेनिक ट्याङ्कभित्र राखिन्छन्, जहाँ यति चिसो तापक्रम हुन्छ कि परमाणुहरू प्रायः नचलेजस्तै हुन्छन्।
त्यहाँबाट जानकारी बाहिर निकाल्न आईबीएमले स्थिर क्वान्टम कम्प्युटरको आधारभूत सूचना एकाइ अर्थात् “क्युबिट” लाई माइक्रोवेभका रूपमा यात्रा गर्ने “फ्लाइिङ क्युबिट” मा परिवर्तन गर्ने उपाय निकाल्नुपर्ने हुन्छ। यसबारे आईबीएम रिसर्चका निर्देशक जे ग्याम्बेट्टाले बताए।
तर ती फ्लाइङ माइक्रोवेभ क्युबिटहरूलाई फाइबर-अप्टिक केबलमार्फत सिस्कोका स्विचहरू बीच यात्रा गर्न मिल्ने अप्टिकल सिग्नलमा फेरि रूपान्तरण गर्नुपर्छ।
माइक्रोवेभ-अप्टिकल ट्रान्सड्युसर भनिने यो प्रविधि अहिले उपलब्ध छैन र यसलाई शिकागो नजिकको फर्मी नेसनल एक्सेलेरेटर लेबोरेटरीद्वारा नेतृत्व गरिएको सुपरकन्डक्टिङ क्वान्टम मटेरियल्स एण्ड सिस्टम्स सेन्टर जस्ता समूहहरूको सहयोगमा विकास गर्नुपर्नेछ।
यसै क्रममा सिस्को र आईबीएमले आवश्यक सबै भागहरू जोडेर काम गर्ने खुला-स्रोत सफ्टवेयर पनि सार्वजनिक गर्नेछन्।
“हामी यसलाई छुट्टाछुट्टै रोडम्यापको रूपमा होइन, एकै प्रणालीको रूपमा हेरिरहेका छौँ,” सिस्कोको आउटशिफ्ट इनोभेसन इन्क्युबेटरका वरिष्ठ उपाध्यक्ष विजोय पाण्डेले भने। “हामी यसलाई संयुक्त रूपमा समाधान गर्दैछौँ, जसले एउटा दिशामा अगाडि बढ्ने सम्भावना धेरै बनाउँछ।”
प्रकाशित: ६ मंसिर २०८२, शनिबार