Technology Khabar ५ मंसिर २०८२, शुक्रबार
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको अवलोकन गरेका छन्। मन्त्री खरेलले विभागको बल्खुस्थित ‘क्यामरा भवन’ को बिहीबार स्थलगत अवलोकन गरी त्यहाँको शैक्षिक, प्राज्ञिक र भौतिक अवस्थाकाबारेमा जानकारी लिइ समस्या समाधानका लागि भूमिका खेल्ने बताए।
त्यसक्रममा सञ्चारमन्त्री खरेलले त्रिविको क्यामरा भवन पुग्दा मन्दिर पुगेजस्तो अनुभूति भएको उल्लेख गरे। “क्यामरा भवनमा आउँदा श्रद्धा र सद्भाव अगाध रह्यो। मन्दिरमै आएको अनुभूति भयो”, उनले भने, “म सञ्चारमन्त्रीका रुपमा नभई विद्यार्थीको नाताले एउटा सपनाको घरमा आएजस्तो ‘फिल’ भयो किनकि रत्नराज्य क्याम्पसमा साँघुरो कक्षाकोठा, भौतिक पूर्वाधार र स्रोतसाधनको कमीका बाबजुद अध्ययन गरेको त्यो भोगाइ आज सुविधासम्पन्न भवनमा आउँदा नौलो अनुभूति भयो।”
सञ्चारमन्त्री खरेलले विभागको शैक्षिक उन्नयनका लागि सरकारकोतर्फबाट आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गरे।
पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका विभागीय प्रमुख डा कुन्दन अर्यालले गुणस्तरीय शैक्षिक जनशक्ति उत्पादनमा पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गरे। उनले विभागलाई शैक्षिक उन्नयन र रचनात्मक कामका लागि वर्तमान सरकारको सद्भाव रहने विश्वास व्यक्त गरे।
विभागका उपप्राध्यापक डा देवराज अर्यालले ऊर्जाशील व्यक्तित्व सञ्चारमन्त्रीका रुपमा पाउँदा केन्द्रीय विभागले विकासको अपेक्षा गरेको र त्यसमा मन्त्रीको तदारुकताले प्रतिफल दिने अपेक्षा गरे।
त्यसअघि सञ्चारमन्त्री खरेल क्यामरा भवन पुग्दा विभागीय प्रमुख डा अर्यालले स्वागत गरेका थिए। सञ्चारमन्त्री खरेलले विभागको भवनभित्र कक्षाकोठा, प्राध्यापक कक्ष, रेडियो स्टुडिओ, टेलिभिजन स्टुडिओ, फिल्म अध्ययनस्थल, मल्टिमिडिया कक्ष, पुस्तकालय, आधुनिक सभाहललगायतको अवलोकन गरे। विभागीय प्रमुख अर्यालले भवनभित्र शैक्षिक, प्रागिक र भौतिक अवस्थाको सञ्चारमन्त्रीलाई जानकारी गराए।
उनका अनुसार विभागले ‘डिजिटल मिडिया प्रडक्सन’ र ‘फिल्म स्टडिज’ को शैक्षिक कार्यक्रम छिट्टै सञ्चालन गर्ने तयारी गरेको छ। विश्वका विभिन्न विश्वविद्यालयसँग सहकार्य, अन्तरराष्ट्रिय सम्मेलनहरु, स्रोत साधन जुटाउनेलगायत कामलाई विभागले प्राथमिकता दिएको छ।
लामो सयमसम्म प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पस परिसरबाट सञ्चालित केन्द्रीय विभाग दुई वर्षदेखि बल्खुस्थित आफ्नै क्यामरा भवनबाट सञ्चालन भइरहेको छ जहाँ स्नातकोत्तर तह र दर्शनार्थी (एमफिल) एवं विद्यावारिधि (पिएचडी) सम्मको कक्षा सञ्चालन हुँदै आएको छ।-रासस
प्रकाशित: ५ मंसिर २०८२, शुक्रबार