नियमविपरीत ड्रोन उडान बढेपछि प्रशासनको कडाइ, अनुमतिबिना उडानमा रोक

Technology Khabar ५ मंसिर २०८२, शुक्रबार

नियमविपरीत ड्रोन उडान बढेपछि प्रशासनको कडाइ, अनुमतिबिना उडानमा रोक
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

जिल्ला प्रशासन कार्यालयले कानुनी प्रक्रिया पूरा नगरी मानवरहित हवाई उपकरण (ड्रोन) उडान नगर्न आग्रह गरेको छ। पछिल्ला दिनमा जिल्लाका विभिन्न स्थानमा नियमविपरीत ड्रोन उडान भइरहेको गुनासो बढेपछि प्रशासनले सार्वजनिक सूचना जारी गर्दै सचेत गराएको हो।

प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँले जारी गरेको सूचनामा नागरिकको गोपनीयता, व्यक्तिगत सुरक्षा तथा सामरिक संवेदनशीलतालाई ध्यानमा राख्दै कानुनअनुसारका सबै प्रक्रिया पूरा नगरी ड्रोन उडान गर्न नपाइने स्पष्ट पारिएको छ। यस्तै अनुमतिबिना जबर्जस्ती ड्रोन उडान गरे कानुनी कारबाही हुने चेतावनीसमेत दिइएको छ।

प्रशासनका अनुसार ड्रोन उडानसम्बन्धी कार्यविधि, २०७५ ले तोकेअनुसार ड्रोन अनिवार्य रूपमा दर्ता गर्नु तथा उडान अनुमति लिनु अनिवार्य छ। ड्रोनको बनोट तथा तौलका आधारमा वर्गीकरण, अधिकतम उचाइ र उडान समय, उडान क्षेत्र निर्धारणलगायतका सबै प्रावधान पालना गरेपछि मात्र ड्रोन उडान गर्न पाइने प्रशासनले स्पष्ट गरेको छ।

कानुनविपरीत ड्रोन उडान भएमा उडान अनुमति खारेज, उपकरण जफतलगायत आवश्यक कानुनी कारबाही हुने भन्दै प्रचलित नियमविपरीत ड्रोन उडान नगर्न प्रशासनले सर्वसाधारण, सङ्घसंस्था तथा सम्बन्धित निकायलाई अनुरोध गरेको छ।

प्रकाशित: ५ मंसिर २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया