Technology Khabar ५ मंसिर २०८२, शुक्रबार
काठमाडौं ।
फेसबुकका क्रिएटरहरूले अब आफ्नो कामलाई अरूले नक्कल गर्न नदिने एउटा नयाँ उपकरण पाउने भएका छन्।
सोमबार मेटाले फेसबुक कन्टेन्ट प्रोटेक्शन नामको मोबाइल उपकरण सार्वजनिक गरेको छ जसका कारण क्रिएटरले फेसबुकमा पोष्ट गरेका आफ्ना ओरिजिनल रील्स कसैले अनुमति बिना प्रयोग गरिरहेको छ कि छैन भनेर पत्ता लगाउन सक्नेछन्।
टेकक्रञ्चका अनुसार क्रिएटरलाई कसैले आफ्नो रील प्रयोग गरेको सूचना आएको अवस्थामा उनले त्यो रीलको दृश्यता फेसबुक र इन्स्टाग्राम दुवैमा रोक्न सक्नेछन् वा रीलको प्रदर्शन ट्र्याक गर्दै आवश्यक परे आफ्नो काममा एट्रिब्युसन लिंकसमेत थप्न सक्नेछन्।
त्यसैगरी चाहेमा क्रिएटरले आफ्नो दावी फिर्ता लिएर त्यो रील मेटाका प्लेटफर्महरूमा देखिन दिने विकल्प पनि रहनेछ।
मेटाका अनुसार यो सुविधा थपिनु क्रिएटरहरूलाई फेसबुकमा सफल हुन सहयोग पुर्याउने प्रयासको हिस्सा हो, ताकि उनीहरू नक्कली सामग्री बनाउनेहरूबाट दबिन नपरोस्।
यो पहलको भाग रूपमा, मेटाले जुलाईमा करिब १ करोड प्रोफाइल हटाएको थियो, जसले ठूला क्रिएटरहरूको नक्कल गरिरहेका थिए, र स्प्याम तथा फेक इन्गेजमेन्ट गर्ने ५ लाख एकाउन्टमाथि कारबाही गरेको थियो।
नयाँ प्रणालीले इन्स्टाग्राममा पोष्ट गरिएका ओरिजिनल सामग्रीलाई पनि संरक्षण गर्छ, तर त्यसका लागि क्रिएटरले आफ्ना रील फेसबुक मा पोस्ट गर्नुपर्छ। इन्स्टाग्राम बाट “शेयर टु फेसबुक” प्रयोग गर्दा पनि यो प्रणालीले ट्र्याक गर्छ।
यस कदमले क्रिएटरहरूलाई आफ्नो सामग्री फेसबुकमा बढी सेयर गर्न प्रेरित गर्न सक्छ। क्रिएटरहरूले आफ्ना फीड, प्रोफेशनल ड्याशबोर्ड वा प्रोफाइलमा आएका नोटिफिकेशनमार्फत आफू योग्य छौँ कि छैनौँ भनेर हेर्न सक्नेछन्, वा प्रोफेशनल ड्याशबोर्डमा “कन्टेन्ट प्रोटेक्शन” अन्तर्गत यो उपकरण उपलब्ध छ कि छैन भनेर जाँच गर्न सक्नेछन्। चाहनेहरूले फेसबुक को वेबसाइटमार्फत पनि पहुँचका लागि आवेदन दिन सक्नेछन्।
यो उपकरण चलाउन मेटाले हालको राइट्स म्यानेजरमा प्रयोग हुने उस्तै म्याचिङ प्रविधि प्रयोग गरेको छ। यसले भेटिएका प्रत्येक म्याचमा कति प्रतिशत मेल खान्छ भन्ने देखाउँछ, साथै भ्यु, फलोअर संख्या र मोनेटाइजेसन स्थिति जस्ता विवरणहरू पनि देखाउँछ।
कम्पनीका अनुसार क्रिएटरलाई प्रणालीले कसरी र कहिले म्याच फ्ल्याग गर्ने भन्नेबारे नियन्त्रण दिइनेछ। उदाहरणका लागि, क्रिएटरले कुनै अन्य अकाउन्टलाई आफ्नो सामग्री प्रयोग गर्न अनुमति दिएको भए उनीहरूले त्यसलाई “अलाउ लिस्ट” मा राख्न सक्छन्, जसले गर्दा ती रीलहरू स्वतः फ्ल्याग हुनेछैनन्।
नयाँ कन्टेन्ट प्रोटेक्शन प्रणाली फेसबुक कन्टेन्ट मनिटाइजेशन कार्यक्रममा रहेका र कम्पनीले तोकेका इन्टेग्रिटी तथा ओरिजिनालिटी मापदण्ड पूरा गर्ने क्रिएटरहरूलाई स्वचालित रूपमा दिइँदै छ। साथै राइट्स म्यानेजर प्रयोग गर्ने क्रिएटरहरूलाई पनि यस उपकरणको पहुँच क्रमशः प्रदान भइरहेको कम्पनीले जनाएको छ।
प्रकाशित: ५ मंसिर २०८२, शुक्रबार