प्रविधिको यात्राः ‘सिड्स फर द फ्युचर’मा सहभागी नेपाली विद्यार्थीको प्रेरणादायी अनुभव

Technology Khabar ३ मंसिर २०८२, बुधबार

काठमाडौं ।

गोरखाका विवेक ढकाललाई दुई वर्षअघि चीनको सेञ्जेनमा सरसफाइमा प्रविधिको प्रयोग भएको देख्दा नौलो लागेको थियो। प्रविधिको माध्यमबाट कति काम गर्न सकिन्छ भन्ने उनले त्यहाँ पुगेपछि बुझेका थिए।

चिनियाँ प्रविधि कम्पनी ह्वावेको ‘सिड्स फर द फ्युचर’ कार्यक्रममार्फत ढकाल साथीहरुसँग त्यहाँ पुगेका थिए। “सेञ्जेन सहरका अधिकांश ठाउँमा ह्वावेकै प्रणाली जडान गरिएको रहेछ, हामीले त्यसमध्येका केही प्रविधिबारे अवलोकन गर्न पाएका थियौँ,” उनले भने, “त्यहाँ सिसिटिभीमार्फत फोहरको निगरानी गरिरहेको देख्यौँ, कुनै ठाउँमा फोहर भएर दुर्गन्ध आइरहेको गुनासो प्रविधिले सेन्सरमार्फत थाहा पाउने रहेछ, जुन मलाई निकै राम्रो लाग्यो।”

ढकाललाई पहिलो पटक प्रविधिको प्रयोग जीवनमा कुन हदसम्म गर्न सकिन्छ भन्ने बोध भएको थियो। गोरखाका ढकाल बालकुमारीस्थित एनसिआईटी कलेज पोखरा विश्वविद्यालयसँग सम्बन्धितमा सफ्टवेयर इन्जिनियरिङको छैटौं सेमेस्टर पढ्दै गर्दा सन् २०२३ मा चीन पुगेका थिए। 

हाल नेपालको ‘टेक कम्युनिटी’मा सक्रिय ढकालले सन् २०२२ मा ‘सिड्स फर द फ्युचर’मा सहभागी हुने सोच बनाए पनि एक वर्षपछि मात्रै आवेदन दिएको सुनाए।

“प्रविधिको क्षेत्रमा ह्वावे विश्वको ठूलो कम्पनी हो, यसमा आबद्ध हुन पाए एक्सपोजर पाइन्छ भन्ने थियो, सुरुदेखि नै यही क्षेत्रमा स्टार्टअप सुरु गर्नुपर्छ भन्ने सोचले पनि मलाई हुवावेको यो कार्यक्रम मन परेको थियो”, उनले भने ।

ढकालले साथीहरुसँग मिलेर स्नातक तहको पाँचौँ सेमेस्टरमै प्रविधिसँग सम्बन्धित स्टार्टअप सुरु गरेका थिए। तत्कालीन समयमा कोरोना महामारी चलिरहेको थियो। अधिकांश कार्यक्रम भर्चुअल माध्यमबाटै भए पनि त्यो सुरुआत भने निकै फलदायी भएको उनको बुझाइ छ।

“चीन पुगेपछि मलाई नेपालमै प्रविधिमार्फत केही नयाँ काम गर्नुपर्छ भन्ने विषयले बढी छोएको थियो, त्यसैले अहिले यही क्षेत्रमा निरन्तर संघर्ष गरिरहेको छु”, ढकालले भने।

‘सिड्स फर द फ्युचर’मा सहभागी भइसकेकी ललितपुर भैंसेपाटीकी एञ्जलिना घिमिरेको बुझाइमा पनि यो कार्यक्रम निकै फलदायी छ। पहिलो प्रयासमा कार्यक्रममा भाग लिन नपाए पनि दोस्रो प्रयासमा भने सफल भएको उनले सुनाइन्।  

हालै काठमाडौँ विश्वविद्यालयबाट कम्प्युटर साइन्समा स्नातक तह उत्तीर्ण उनले स्नातक तहको सातौँ सेमेन्टरमा छँदा ह्वावेको यो कार्यक्रमका लागि आवेदन दिएकी थिइन्। हाल घिमिरे स्वास्थ्य क्षेत्रमा एआईसम्बन्धी काम गरिरहेकी छन्।

“सुरुमा आवेदन दिँदा सिड्स फर द फ्युचरबारे धेरै जानकारी थिएन, मलाई यो प्रविधिमा आधारित अतिरिक्त क्रियाकलाप मात्रै हो भन्ने थाहा थियो”, उनले भनिन्, “दोस्रो पटकमा सहभागी भएपछि भने धेरै सिक्ने अवसर मिल्यो।”

कार्यक्रममा छनोट भएपनि उनले ‘एआई इन इथिक्स’, डाटा सेन्टरको अवलोकन र इन्सेसेन्ट रेन स्टुडियो पुगेर जानकारी बटुलिन्। “नेपालमा पनि प्रविधिको क्षेत्र यति धेरै काम भइरहेको छ भन्ने यही कार्यक्रममा सहभागी भएपछि थाहा पाएकी हुँ”, उनले भनिन्, “मलाई हलिउडको ‘गेम अफ थ्रोन्स’, ‘डिज्नी’लगायतका चलचित्रको एनिमेसन नेपालमा पनि हुन्छ भन्ने पहिलो पटक थाहा पाएँ।”

कार्यक्रममा सहभागी भएपछि हार्डवेयर, एआईदेखि क्रिएटिभ फिल्डमा नेपालबाटै कसरी काम हुने रहेछ भन्ने धेरै कुरा बुझ्न पाएको उनले सुनाइन्। घिमिरेले भनिन्, “सानैदेखि नेपालमा प्रविधिको क्षेत्रमा केही काम भएको छैन भन्ने बुझाइ थियो, प्रविधिबारे सिक्न विदेश नै जानुपर्छ भन्ने लाग्थ्यो, सिड्स फर द फ्युचरमार्फत मेरो सोच परिवर्तन भयो, अब नेपालमै केही गर्न सकिन्छ भन्ने आत्मबल बढेको छ।”

“प्रतिस्पर्धामा हाई स्ट्रेस र प्रेसर थियो, आठ दिने चीन यात्रामा तीन दिन मुख्य इभेन्टको रुपमा टेक फर गुड थियो। विभिन्न देशबाट आउनु भएकाहरु सम्मिलित हरेक टिमले तीन दिनमा सोलुसन ब्रेनस्ट्रोम गरेर, बिजनेस प्लान तयार पारेर एउटा पूर्ण आइडिया पिच गर्नुपर्थ्यो ”, घिमिरेले भनिन्, “हरेक टिमका लागि मेन्टर उपलब्ध हुन्छ। उहाँहरुको मार्गदर्शन हाम्रा लागि व्यावसायिक करियरमा समेत एकदमै महत्त्वपूर्ण हुने रहेछ। त्यो अहिले अनुभूति गरिरहेको छु।”

चीनको नानिङ र सेन्जेनमा सम्पन्न एशिया प्रशान्त डिजिटल ट्यालेन्ट समिट, २०२४ मा नेपाली विद्यार्थीहरुले बनाएको प्रविधिले पिपुल्स च्वाइस अवार्ड जितेको थियो। सयौँ प्रतिस्पर्धीलाई पछि पार्दै समीप अर्याल, आशीष कार्की, एञ्जेलिना घिमिरे, प्रियांशु शर्मा, साधना पन्थी र समृद्धि कार्कीको नेपाली टोलीले टेक फर गुड पिपुल्स च्वाइस अवार्ड प्राप्त गरेको थियो।

नेपाली टोलीले गर्भवतीका लागि लक्षित गरी ग्रामीण क्षेत्रमा उपयोगी हुने पोर्टेबल अल्ट्रासाउण्ड मेसिन ‘अल्ट्रा केयर’ को व्यावसायिक अवधारणा प्रस्तुत गरेका थिए।

ढकाल र घिमिरे जस्तै नुवाकोटकी मञ्जिला पाण्डेले पनि ‘सिड्स फर द फ्युचर’मा सहभागी भएपछि धेरै कुरा सिक्न पाएको बताइन्। त्रिभुवन विश्वविद्यालय सम्बन्धित पुल्चोक क्याम्पसमा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङको सातौं सेमेस्टरमा अध्ययनरत उनी सन् २०२५ को सिड्स फर द फ्युचरकी सहभागी हुन्।

उनले कलेजमा हुवावेले आयोजना गरेको सिड्स फर द फ्युचरको अभिमुखिकरण सत्रमा भाग लिएपछि कार्यक्रमबारे जानकारी लिएकी थिइन्।

नेपाल–चाइना फ्रेन्डसिप फोरममा समेत जोडिएकी पाण्डेले ह्वावेको एआई प्रविधिसम्बन्धी सेसनमा सहभागी भएकी थिइन्। जसले उनलाई ह्वावेको सिड्स फर द फ्युचरमा सामेल हुन मद्दत पुर्यायो। सिड्स फर द फ्युचरका लागि आवेदन दिनेदेखि अन्तरवार्तासम्म दुई महिनाको समय लागेको सुनाउँदै पाण्डे शीर्ष ३० मा छानिएकी थिइन्। 

कार्यक्रममा छनोट भएपछि उनले पनि तीनवटा औद्योगिक क्षेत्रको भ्रमण र कल्चरल एक्सचेन्ज सेन्टरमा पुगिन्।  उनले भाषा र संस्कृतिलाई एआईले कसरी प्रतिनिधित्व गर्न सक्छ भन्ने सत्रमा युनेस्कोको सहयोगमा नेपालको संयुक्त राष्ट्रसंघको कार्यालयमा लिएको बताइन्। 

“किताबमा डाटा सेन्टरको बारेमा पढेकी थिएँ, तर जब ह्वावेद्वारा निर्माण गरिएको डाटा सेन्टरमा पुगे, तब धेरै जानकारी प्राप्त भयो, त्यो इच्छा ह्वावेले पूरा गराइदियो, त्यहाँ पुगेपछि डाटा कसरी भण्डारण हुँदोरहेछ, र्याकको विषयमा व्यवहारिक ज्ञान सिक्न पाएँ”, पाण्डेले भनिन् ।

सिड्स फर द फ्युचरबाटै उनी चाइना कल्चरल एक्सचेन्ज सेन्टर पुगिन्। त्यहाँ उनले आधुनिक चीनको सामाजिक, सांस्कृतिक, आर्थिकदेखि अन्य ऐतिहासिक विषयबारेमा ज्ञान प्राप्त गरिन्। त्यसपछि एआई, फाइभजी, क्लाउड कम्प्युटिङ, डिजिटल पावरलगायतका विषयमा वर्कशपमा पनि भाग लिइन्।

शीर्ष ३० मा परेकी पाण्डेपछि शीर्ष पाँचमा छनोट भइ चीन पुगिन्। “हामीलाई ह्वावेले चीनमा आफूले गरेको विकासबारे जानकारी गराएको थियो”, उनले भनिन् ।

पहिलो पटक विदेश पुगेकी पाण्डेले चीनमा १० दिन बिताइन्। त्यस अवसरमा एआई, डिजिटल पावर, फाइभजीलगायतका विषयमा तालिम लिइन्।

“चीन बसाइका क्रममा हुवावेका उच्च प्राविधिकसँग साक्षात्कार गर्न पायौँ, डिजिटल पावरअन्तर्गत स्मार्ट पिभीको विषयमा प्रत्यक्ष जानकारी पायौं। त्यो काम चीनका सहरहरुमा कार्यान्वयनमा आइसक्यो भनेर देख्न निकै अचम्मित पनि भएँ”, पाण्डेले भनिन्।

पाण्डेले चीनका विकसित सहरमा प्रविधिको प्रयोग गरेर ई–गभर्नेन्स कार्यान्वयन भएर हरेक विषय व्यवस्थापन भइरहेको पनि देखिन्। त्यसले नागरिकहरुको दिनदैनिकीमा कस्तो सहजीकरण गर्दो रहेछ भन्ने प्रत्यक्ष अनुभव गर्न पाएको उनको भनाइ छ। 

के हो सिड्स फर द फ्यचुर ?

ह्वावेले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)अन्तर्गत विश्वका विभिन्न देशमा सञ्चालन गरिरहेको ‘सिड्स फर द फ्युचर’ स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई लक्षित कार्यक्रम हो। ह्वावेले इनोभेसन, डिजिटलाइजेशन, दिगोपन, उद्यमशीलता तथा सांस्कृतिक आदानप्रदानमा रुचि राख्ने विद्यार्थीलाई कार्यक्रममा सहभागी गराउँदै आएको छ। 

सन् २००८ मा थाइल्याण्डबाट सुरु भएको यो कार्यक्रमबाट हालसम्म १४२ देशका १९ हजारभन्दा बढी विद्यार्थी लाभान्वित भएको ह्वावेले जनाएको छ। विद्यार्थीहरुले आफ्नो करिअर विकासका लागि महत्त्वपूर्ण सिकाई कार्यक्रममार्फत पाइरहेको कम्पनीको भनाइ छ। 

कार्यक्रममा सहभागी हुने विद्यार्थीहरुले अन्तर्राष्ट्रिय ब्राण्डसँग प्रत्यक्ष साक्षात्कारको अवसर पाउँछन्। साथै, अरु देशका समकक्षीसँग प्रत्यक्ष भेटघाट गर्दै विभिन्न क्रियाकलापमा प्रतिस्पर्धा पनि गर्न पाउँछन्। जसले विद्यार्थीहरुको व्यक्तिगतसँगै व्यावसायिक वृत्तिविकासमा ठूलो सहयोग पुगिरहेको कम्पनीको बुझाइ छ। 

 कार्यक्रममा सहभागीहरुले कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स), फाइभजी, ग्रीन टेक, डिजिटल पावरलगायतका पछिल्लो समय सूचना प्रविधिमा विकसित घटनाक्रमबारे विद्यार्थीले जान्ने अवसर पाउँछन्। 

कार्यक्रममा सहभागी हुन योग्यता पुगेका विद्यार्थीले आवेदन दिनुपर्ने हुन्छ। आवेदन दिनेमध्येबाट पहिलो चरणका लागि ३० जना विद्यार्थी छनोट हुन्छन्। उनीहरुमध्ये ५–६ जनाले चीन पुगेर थप जानकारी लिन पाउँछन्। चीन जानका लागि अन्तरवार्ता हुन्छ। दुई राउन्डमा हुने अन्तर्वार्तापछि शीर्ष  विद्यार्थीको टुङ्गो लाग्छ।

सन् १९८७ मा स्थापना भएको हुवावेले हाल १७० भन्दा बढी देशमा सूचना प्रविधिको पूर्वाधार तथा स्मार्ट डिभाइसमा काम गर्दै आएको छ । साथै विगत २५ वर्षदेखि नेपालको सूचना प्रविधिको क्षेत्रमा काम गर्दै आएको हुवावेले नेपालमा सूचना प्रविधिको पहुँच विस्तार, रोजगारी सृजनाका साथै डिजिटल समावेशिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । 

कम्पनीले विपद् व्यवस्थापन, ऊर्जा तथा विभिन्न शैक्षिक कार्यक्रममार्फत सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्दै आएको छ ।

प्रकाशित: ३ मंसिर २०८२, बुधबार

तपाइको प्रतिक्रिया