Technology Khabar २ मंसिर २०८२, मंगलवार
काठमाडौं ।
पूर्वाधार कम्पनी क्लाउडफ्लेयरमा देखिएको समस्या समाधान उन्मुख देखिएको छ। कम्पनीले ड्याशबोर्ड खोल्न सफल भएको जानकारी दिएसँगै केहि वेबसाइटहरु सञ्चालनमा आएका छन्।
तर अझै कयौं वेबसाइटहरुमा समस्या रहेको देखिएको छ।
यसअघि एक्सका साथै म्यूजिक स्ट्रिमिङ एप स्पोटिफाई सहित धेरै वेबसाइटहरू र सामाजिक सञ्जाल साइटहरू डाउन भएका थिए। यसले हजारौं प्रयोगकर्ताहरूलाई असर गरेको बताइएको छ।
यो क्लाउडफ्लेयरमा होस्ट गरिएका केही प्लेटफर्महरूसँग सम्बन्धित भएको समस्याका कारण देखिएको हो।
क्लाउडफ्लेयरले साइबर आक्रमणबाट वेबसाइटहरूलाई जोगाउने र साइटहरूलाई कन्टेन्ट (सामग्री) छिटो लोड गर्न अनुमति दिने टुल्स (उपकरणहरू) प्रदान गर्दछ।
आउटेज ट्र्याकर डाउनडिटेक्टरका अनुसार, क्लाउडफ्लेयरमा हजारौं समस्याहरू अहिलेसम्म पनि रिपोर्ट गरिएको उल्लेख छ।
क्लाउडफ्लेयरले आफ्नो स्ट्याटस पेजमा इन्जिनियरहरूले “धेरै ग्राहकहरूलाई सम्भावित रूपमा असर गर्ने” मुद्दाको अनुसन्धान गरिरहेका र हाल समाधान लागू गरिएको बताएको छ।
“समाधान लागू गरिएको छ र हामीलाई विश्वास छ कि घटना अब समाधान भइसकेको छ। सबै सेवाहरू सामान्यमा फर्किएको सुनिश्चित गर्न हामी त्रुटिहरूको लागि निरन्तर निगरानी गरिरहेका छौं।”
क्लाउडको समेत सुबिधा दिने क्लाउडफ्लेयर डाउन भएसँगै नेपालका अधिकांश समाचार साइटहरु समेत डाउन भएका थिए। यसले ३ घण्टा भन्दा धेरै समय साइटहरु डाउन भएको देखिएको थियो।
हाल अधिकांश नेपाली न्यूज पोर्टलहरु पुनः चलेको देखिन्छ।
यसैबीच, क्लाउडफ्लेयरले थप काम गरिरहेको जनाएको छ। “हामीले एउटा परिवर्तन लागू गरेका छौं जसले ड्यासबोर्ड सेवाहरू पुनर्स्थापित गरेको छ। हामी अझै पनि व्यापक अनुप्रयोग सेवाहरूको प्रभावलाई सुधार गर्न काम गरिरहेका छौं,” क्लाउडफ्लेयरले भनेको छ।
प्रकाशित: २ मंसिर २०८२, मंगलवार