निर्वाचन आयोगले भन्यो- वेबसाइट र मतदाता नामावलीमा अनधिकृत व्यक्तिको पहुँच छैन

Technology Khabar २ मंसिर २०८२, मंगलवार

काठमाडौं ।

निर्वाचन आयोगको वेबसाइटमा अनधिकृत व्यक्तिको पहुँचमा मतदाता नामावलीसम्बन्धी सूचना फेला पारेको भन्ने विषय सत्य नभएको आयोगले जनाएको छ।

आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै बेवसाइटमा अनाधिकृत रुपमा प्रवेश गरी मतदाता नामावलीसम्बन्धी सूचनाहरु फेला पारेको भनि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा राखिएका र साझा गरिएको दाबीहरु प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

नागरिकका कानुन बमोजिम गोप्य राख्नुपर्ने सूचनाको पूर्ण सुरक्षाका लागि आयोग प्रतिबद्ध रहेको र यसका लागि आयोगसँग सम्बद्ध सूचना प्रविधिसम्बन्धी विज्ञहरुले सूचना प्रणालीको निरन्तर अनुगमन गर्ने, सुरइाा जोखिम विश्लेषण गरी सूचना प्रणाली सुरक्षाका लागि अपनाउनुपर्ने सबै उपायहरु अबलम्बन गर्ने कार्य गरिरहका आयोगले बताएको छ।

“सामाजिक सञ्जालहरूमा निर्वाचन आयोगको सूचना प्रणालीबाट लिइएको भनी देखाइएका पीडीएफ फाइलहरू आयोगले विगतमा निर्वाचन प्रयोजनका लागि कानुनसम्मत रूपमा निर्वाचन कार्यालयहरू र राजनीतिक दलहरूलाई उपलब्ध गराइएका सामान्य सूचनाहरू हुन्,”आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “त्यसमा नागरिकका संवेदनशील वा गोप्य विवरण समावेश भएका छैनन् ।”

यस सम्बन्धमा प्रकाशन एवम् प्रसारण भएका अप्रमाणित, भ्रामक तथा मिथ्या सूचना र सामग्रीहरूमा विश्वास नगर्न पनि आयोगले सबै सरोकारवालाहरूलाई अनुरोध गरेको छ।

प्रकाशित: २ मंसिर २०८२, मंगलवार

तपाइको प्रतिक्रिया