सबैभन्दा बढी आयकर बुझाउने दूरसञ्चार प्राधिकरण सम्मानित, सबैभन्दा बढी भ्याट बुझाउने नेपाल टेलिकम उत्कृष्ट करदाता

Technology Khabar १ मंसिर २०८२, सोमबार

काठमाडौं ।

राष्ट्रिय कर दिवस २०८२ का अवसरमा आन्तरिक राजस्व विभागले  उत्कृष्ट करदातालाई सम्मानित गरेको छ। आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमबीच आर्थिक वर्ष २०८०/८१ को आय विवरणअनुसार क्षेत्रगत रुपमा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मानित गरेको हो।

यसअन्तरगत सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्थाका रुपमा दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण सम्मानित भएको छ।

त्यस्तै, वि.सं २०७६ देखि २०८२ सालसम्म नियमित रूपमा सबैभन्दा बढी मुल्य अभिवृद्धि कर दाखिला गर्ने कम्पनीका रूपमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरिएको छ।

विभागले सूचना प्रविधि सम्बन्धी सेवामा सबैभन्दा बढी आयकर दाखिला गर्ने ओरिक्स नेपाल प्रालिलाई समेत सम्मान गरेको छ।

यस बाहेक, एकलौटी फर्महरुमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने थर्ड आई इण्टरनेशनल, वस्तु निर्यातको कारोवार गर्ने मध्ये सवैभन्दा बढी आयकर दाखिला गर्ने डावर नेपाल प्रालि र कृषि एवं पशुपंक्षीजन्य उद्योगमध्ये गर्ने मध्ये पोषक ब्रिडर फार्म प्रालिलाई सम्मानित गरिएको छ।

बैंकिङ्ग र बीमा संस्थातर्फ नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड, स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, पर्यटन व्यवसायतर्फ सोल्टी होटल लिमिटेड, वस्तु व्यापार गर्ने संस्थातर्फ भाटभटेनी सुपर मार्केट, ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी प्रालि, रेमिट्यान्स तथा मनी कारोबार गर्ने संस्थाहरुमा आईएमई लिमिटेड सम्मानित भएका छन्।

व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने राजबहादुर शाहलाई सम्मानित गरिएको छ भने वार्षिक कारोबारका आधारमा ५० करोड रूपैयाँ देखि एक अर्ब रूपैयाँसम्मको कारोबार गर्नेमा सिडिएस एण्ड क्लियरिङ लिमिटेड र ५० करोड रूपैयाँसम्मको कारोबार गर्ने संस्थाका रूपमा भिएफ सर्भिसेज प्रालिलाई सम्मानित गरिएको छ।

विशेष उद्योग तर्फ सबैभन्दा बढी कर तिर्ने युनीलिभर नेपाल लाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरिएको छ।

प्रकाशित: १ मंसिर २०८२, सोमबार

तपाइको प्रतिक्रिया