टेस्लाद्वारा आफ्नो उन्नत ड्राइभर-सहायक सफ्टवेयरको प्रदर्शन र सुरक्षाबारे विस्तृत विवरण सार्वजनिक

Technology Khabar १ मंसिर २०८२, सोमबार

काठमाडौं ।

टेस्लाले आफ्नो उन्नत ड्राइभर-सहायक सफ्टवेयरको प्रदर्शन र सुरक्षाबारे सबैभन्दा विस्तृत विवरण सार्वजनिक गरेको छ। यो कदम वेमोका सह-सीईओ टेकेद्रा मावाकानाले कम्पनीहरूले अझ धेरै डाटा सार्वजनिक गर्नुपर्ने माग गरेको केही हप्तापछि आएको हो।

टेस्लाले आफ्नो वेबसाइटको नयाँ खण्डमा दावी गरे अनुसार उत्तरी अमेरिकामा एफएसडी (सुपरभाइज्ड) प्रयोग गर्ने मालिकहरूले ठूलो दुर्घटना हुनुअघि औसत ५० लाख माइल र सानो दुर्घटना हुनुअघि करिब १५ लाख माइल ड्राइभ गर्छन्।

टेस्लाको व्याख्या अनुसार यो दर अमेरिकी राष्ट्रिय औसतभन्दा निकै राम्रो हो। अमेरिकाको राष्ट्रिय राजमार्ग यातायात सुरक्षा प्रशासन (एनएचटीएसए) को तथ्यांकले चालकहरू औसत ६,९९,००० माइलमा एक पटक ठूलो दुर्घटनामा र २,२९,००० माइलमा एक पटक सानो दुर्घटनामा परेकै देखाउँछ।

टेस्लाले क्वार्टर-बाइ-क्वार्टर “सुरक्षा रिपोर्ट” सार्वजनिक गर्दै आएको भए पनि ती रिपोर्ट अपूर्ण रहेको भन्दै धेरै आलोचना हुँदै आएको छ। साथै, यस वर्ष टेक्सासको अस्टिनमा चलिरहेको आफ्नो रोबोट्याक्सी परीक्षणबारे कम्पनीले लगभग कुनै सुरक्षा डाटा सार्वजनिक गरेको छैन, जहाँ हाल पनि कर्मचारीहरू सेफ्टीका लागि ड्राइभर सिटमै बस्ने गरेका छन्।

टेकक्रञ्चका अनुसार अमेरिकामा हाल सर्वाधिक सञ्चालनमा रहेका रोबोट्याक्सीहरूमध्ये वेमोले विस्तृत रिपोर्ट सार्वजनिक गरेको छ, जसले मानव चालकभन्दा यसको सवारीहरू करिब ५ गुणा सुरक्षित र पैदल यात्रीप्रति १२ गुणा सुरक्षित भएको देखाउँछ।

मावाकानालाई सडकलाई सुरक्षित बनाउन योगदान गरिरहेका अन्य कम्पनीबारे सोधिएको थियो।

“मलाई थाहा छैन त्यो सूचीमा को-को छन्, किनकि उनीहरूले आफ्नो फ्लीटका डाटाबारे बताइरहेका छैनन्,” मावाकानाले भनिन्। उनले टेस्लाको नाम नलिए पनि सन्देश स्पष्ट थियो।

“यदि तपाईंले चालकविहीन सवारी सडकमा चलाउँदै हुनुहुन्छ, वा अन्य कोठाबाट फ्लीट अनुगमन गर्दै आवश्यक परे नियन्त्रण लिन सक्ने व्यवस्था गर्दै हुनुहुन्छ भने, तपाईंले वास्तविकता पारदर्शी रूपमा सार्वजनिक गर्नैपर्छ,” उनले भनिन्। “पारदर्शिता बिना तपाईंले सडक सुरक्षित बनाउन आवश्यक काम गरिरहेको दाबी गर्न सकिँदैन।”
टेस्लाको नयाँ डाटा पर्याप्त छ कि छैन भन्नेबारे वेमोले शुक्रबार टिप्पणी गरेको छैन।

टेस्लाको त्रैमासिक रिपोर्टप्रति आउने मुख्य आलोचनामध्ये एक अटोपाइलटमा मात्रै ध्यान दिइनु हो जुन एफएसडी (सुपरभाइज्ड) भन्दा निकै कम उन्नत प्रणाली हो र कुनै पनि अवस्थामा पूर्ण स्वचालित चलन क्षमतायुक्त होइन। अटोपाइलट मुख्यतया राजमार्गका लागि डिजाइन गरिएको हो, जहाँ दुर्घटना दर सामान्यतया कम हुन्छ।

टेस्लाले अब यी सबै विवरण छुट्ट्याएर सार्वजनिक गरेको छ। वेबसाइटको नयाँ खण्डमा टेस्लाले दावी गरे अनुसार एफएसडी प्रयोगकर्ता ठूलो दुर्घटना हुनुअघि औसत २.९ मिलियन माइल ड्राइभ गर्छन् जबकि एनएचटीएसए तथ्यांकले सबै चालकहरू ५,०५,००० माइलमा एक पटक ठूलो दुर्घटनामा पर्ने देखाउँछ।

एफएसडी प्रयोगकर्ताले सानो दुर्घटना हुनुअघि करिब ९८६,००० माइल ड्राइभ गर्छन् जबकि एनएचटीएसए तथ्यांक अनुसार सबै चालकहरूको औसत १,७८,000 माइल हो।

प्रकाशित: १ मंसिर २०८२, सोमबार

तपाइको प्रतिक्रिया