Technology Khabar ३० कार्तिक २०८२, आईतवार
काठमाडौं ।
ओपनएआईले च्याटजीपीटीमा देखिँदै आएको “एम ड्याश” को समस्याको समाधान गरेको जनाएको छ। पछिल्ला महिनाहरूमा एआईद्वारा लेखिएको मानिने पाठको मुख्य चिन्हका रूपमा देखाइएको यो प्रतीक विद्यालयका असाइनमेन्ट, इमेल, टिकाटिप्पणी, ग्राहक सेवा संवाद,लिङ्क्डइन पोस्ट, अनलाइन फोरमदेखि विज्ञापन सामग्रीसम्म सर्वत्र देखिन थालेको थियो।
यसले धेरै प्रयोगकर्तालाई लेखनमा सुस्ताइँ गर्दै कामका लागि एआईमा भर परे भन्दै आलोचना खेप्नुपरेको थियो।
तर धेरैले एम ड्याश त आफूहरूले एलएलएम आउनुअघि नै प्रयोग गर्दै आएको बताएका छन्। यद्यपि च्याटबोटहरूले यसलाई अत्यधिक प्रयोग गर्ने भएकाले “च्याटजीपीटी हाइफन” जस्तै नयाँ आपत्ति उठेको थियो। यो समस्या लामो समयसम्म ओपनएआईका लागि चुनौती बनेको थियो किनकि प्रयोगकर्ताले स्पष्ट रूपमा प्रयोग नगर्न भने पनि च्याटजीपीटीले यसलाई हटाउन सकिरहेको थिएन।
टेकक्रञ्चका अनुसार अब ओपनएआईका सीईओ साम अल्टम्यानले समस्या समाधान भएको बताएका छन्। एक्समा पोस्ट गर्दै उनले भने, “यदि तपाईंले च्याटजीपीटीलाई आफ्ना कस्टम इन्स्ट्रक्शन्समा एम ड्याश प्रयोग नगर्न भन्नुभयो भने अब यसले सही रूपमा त्यसै अनुसार काम गर्छ।” यो अपडेट “सानो तर खुसी दिने उपलब्धि” भएको उनको भनाई छ।
कम्पनीले थ्रेड्समा लेख्दै अब कस्टम इन्स्ट्रक्शन्समार्फत प्रयोग नगर्न भनेमा च्याटजीपीटीले त्यसको प्रयोग घटाउने क्षमतामा सुधार भएको जनाएको छ। थ्रेड्स त्यही प्लेटफर्म हो जहाँ च्याटजीपीटी लाई “एम ड्याश बर्बाद गरेको” भन्दै मजाकमै माफी माग्न बाध्य पारिएको थियो। यसको अर्थ च्याटजीपीटीले स्वतः एम ड्याश हटाइदिन्छ भन्ने होइन, तर प्रयोगकर्ताले यसको प्रयोगको आवृत्ति धेरै हदसम्म नियन्त्रण गर्न सक्नेछन्।
प्रकाशित: ३० कार्तिक २०८२, आईतवार