सुटुक्क बाहिरिएको गोप्य कागजातले देखायो ओपनएआई र माइक्रोसफ्टबीचको आर्थिक लेनदेनको आँकडा

Technology Khabar ३० कार्तिक २०८२, आईतवार

सुटुक्क बाहिरिएको गोप्य कागजातले देखायो ओपनएआई र माइक्रोसफ्टबीचको आर्थिक लेनदेनको आँकडा
बिङ एआईमार्फत् बनाइएको सांकेतिक तस्बिर।

काठमाडौं ।

एक वर्षदेखि तीव्र डिल र सम्भावित आईपीओका हल्लाबीच ओपनएआई माथिको आर्थिक निगरानी अझ कडा बन्दै गएको छ। टेक ब्लगर एड जित्रोनले प्राप्त गरेका लीक भएको कागजातहरूले कम्पनीको आय–व्यय, विशेषगरी अघिल्लो केही वर्षको आम्दानी र कम्प्युट खर्चबारे थप जानकारी दिएको छ।

जित्रोनका अनुसार २०२४ मा माइक्रोसफ्टले ओपनएआई बाट राजस्व साझेदारीका रूपमा ४९३.८ मिलियन डलर प्राप्त गर्‍यो। २०२५ को पहिलो तीन त्रैमासिकमा यो रकम बढेर ८६५.८ मिलियन डलर पुगेको कागजातमा देखिन्छ।

ओपनएआईले आफ्नो २० प्रतिशत राजस्व माइक्रोसफ्टसँग बाँड्ने गरेको बताइन्छ। यो सहकार्य त्यतिबेला सुरु भएको हो जब माइक्रोसफ्ट ले कम्पनीमा १३ अर्ब डलरभन्दा बढी लगानी गरेको थियो। (दुवै पक्षले यो प्रतिशत सार्वजनिक रूपमै पुष्टि गरेका छैनन्।)

तर यहाँ दुई पक्षीय जटिलता छ किनकि माइक्रोसफ्टले पनि बिङ र अज्युर ओपनएआई सर्भिसबाट उठेको करिब २० प्रतिशत राजस्व ओपनएआईलाई फर्काउने गरेको एक स्रोतले टेकक्रञ्चलाई बताएको छ। बिङलाई ओपनएआईले शक्ति दिएको छ र अज्युर ओपनएआई सर्भिसले विकासकर्ता तथा व्यवसायहरूलाई ओपनएआईका मोडेलहरू प्रयोग गर्न क्लाउड पहुँच बेच्ने गर्छ।

स्रोतका अनुसार लीक भएको विवरणमा देखिएका रकम माइक्रोसफ्ट को “नेट” राजस्व साझेदारी हुन्, “ग्रस” होइनन्। अर्थात् बिङ र अज्युर ओपनएआई बाट ओपनएआई लाई देय रकम ती विवरणमा समावेश छैनन्। माइक्रोसफ्ट ले ती रकम घटाएर मात्रै आफ्नो आन्तरिक राजस्व साझेदारी रिपोर्ट गर्ने स्रोतले बतायो।

टेकक्रञ्चका अनुसार माइक्रोसफ्टले आफ्नो वित्तीय विवरणमा Bing र अज्युर ओपनएआई बाट कति कमाइ गर्छ भन्ने खुलाउँदैन, त्यसैले कति रकम ओपनएआई लाई फिर्ता गएको हो भन्ने अनुमान लगाउन कठिन छ।

बाहिर आएका कागजातहरूले अहिलेको निजी बजारमा सबैभन्दा चर्चित कम्पनी ओपनएआईको वास्तविक अवस्थाबारे झिनो झलक दिने भएता पनिआम्दानी मात्र नभई त्यति आम्दानीको तुलनामा कति ठूलो खर्च भइरहेको छ भन्नेबारे पनि केहि तथ्य उजागर गर्छ।

२० प्रतिशत राजस्व साझेदारीका आधारमा हेर्दा ओपनएआई को २०२४ को राजस्व कम्तीमा २.५ अर्ब डलर र २०२५ का पहिलो तीन त्रैमासिकमा ४.३३ अर्ब डलरभन्दा बढी भएको अनुमान गर्न सकिन्छ। द इन्फर्मेशनले अघि २०२४ को राजस्व करिब ४ अर्ब डलर र २०२५ को पहिलो छ महिनाको राजस्व ४.३ अर्ब डलर भएको उल्लेख गरेको थियो।

साम अल्टमनले हालै ओपनएआई को वार्षिक आम्दानी “१३ अर्ब डलरको रिपोर्टभन्दा धेरै” भएको र वर्षअन्त्यमा कम्पनीको वार्षिक आम्दानी दर २० अर्ब डलरभन्दा माथि जाने तथा २०२७ सम्म १०० अर्बसम्म पुग्न सक्ने दावी गरेका छन्।

जित्रोनको विश्लेषण अनुसार ओपनएआई ले २०२४ मा इन्फरेन्सका लागि करिब ३.८ अर्ब डलर खर्च गर्‍यो। २०२५ का पहिलो नौ महिनामा यो खर्च करिब ८.६५ अर्ब डलर पुगेको छ। इन्फरेन्स भनेको प्रशिक्षित एआई मोडेलले प्रतिक्रिया तयार गर्न प्रयोग हुने कम्प्युट हो। ओपनएआई ऐतिहासिक रूपमा मुख्यतया माइक्रोसफ्ट अज्युरमा निर्भर रहँदै आएको छ, तर कम्पनीले कोरवीभ, ओर्याकल र हाल एडब्लूएस तथा गुगल क्लाउड सँग पनि सम्झौता गरेको छ।

अघिल्ला रिपोर्टहरूले ओपनएआई को कुल कम्प्युट खर्च २०२४ मा करिब ५.६ अर्ब डलर र २०२५ को पहिलो छ महिनामा “आम्दानीको लागत” २.५ अर्ब डलर रहेको उल्लेख गरेका थिए। एक स्रोतका अनुसार ओपनएआईको प्रशिक्षण खर्च प्रायः गैर–नगद (माइक्रोसफ्ट ले दिएको क्रेडिटबाट तिर्ने) भए पनि इन्फरेन्स खर्च भने मुख्यतः नगदमा तिर्नुपर्ने हुन्छ।

यी तथ्यांकले ओपनएआई ले इन्फरेन्स खर्चमै आम्दानीभन्दा बढी खर्च गरिरहेको हुनसक्ने संकेत गर्छन् र यही संकेतले न्युयोर्कदेखि सिलिकन भ्यालीसम्म फैलिएको “एआई बबल” सम्बन्धी बहसलाई झन् तीव्र बनाउने आकलन गरिएको छ। यदि ओपनएआई जस्तो अग्रणी मोडेल बनाउने कम्पनी अझै घाटामै चलेको छ भने, त्यसले बाक्लो लगानीका आधारमा उभिएको एआई उद्योगका अन्य कम्पनीहरूका लागि के अर्थ राख्छ?

ओपनएआईले टिप्पणी गर्न अस्वीकार गरेको र माइक्रोसफ्टले प्रतिक्रियाको अनुरोधमा जवाफ नदिएको टेकक्रञ्चले उल्लेद गरेको छ।

प्रकाशित: ३० कार्तिक २०८२, आईतवार

तपाइको प्रतिक्रिया