रिमोट आईटी कामदारका रुपमा उत्तर कोरियाली नागरिकलाई पहुँच दिएकोमा पाँच अमेरिकी पक्राऊ

Technology Khabar ३० कार्तिक २०८२, आईतवार

काठमाडौं ।

अमेरिकी न्याय विभाग (डीओजे) ले शुक्रबार पाँच जनाले अमेरिकी कम्पनीहरूलाई ठगी गर्न उत्तर कोरियालीहरूलाई सहयोग गरेको आरोपमा दोषी स्वीकार गरेको जानकारी दिएको छ। उनीहरूले आफूलाई रिमोट आईटी कर्मचारीका रूपमा परिचय दिई अमेरिकी कम्पनीहरूबाट रकम उठाउने योजनामा उत्तर कोरियालीहरुलाई सहयोग गरेको अमेरिकी पक्षको आरोप छ।

यी पाँच जनामाथि उत्तर कोरियालीहरूलाई जागिर दिलाउन “सहयोगी”का रूपमा काम गरेको आरोप छ। उनीहरूले आफ्नै वास्तविक पहिचान, वा एक दर्जनभन्दा बढी अमेरिकी नागरिकहरूको गलत वा चोरी भएका पहिचान उपलब्ध गराएको बताइएको छ।

साथै कम्पनीहरूले दिएको ल्यापटप आफ्नो घरमा राखेर ती कामदारहरू अमेरिकामै बसेका जस्तो देखिने व्यवस्था मिलाइदिएको डीओजेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

यी गतिविधिले १३६ अमेरिकी कम्पनी प्रभावित बनाएको र किम जोङ उनको शासनका लागि २२ लाख डलर आम्दानी जुटाएको डीओजेले जनाएको छ।

यी दोषस्वीकृतिहरू अमेरिकी अधिकारीहरूले साइबर अपराधबाट उत्तर कोरियालाई आर्थिक लाभ उठाउन नदिन वर्षौँदेखि चलाउँदै आएको प्रयासको नवीनतम कदम हुन्। उत्तर कोरियाले वर्षौँदेखि रिमोट आईटी कर्मचारी, लगानीकर्ता वा भर्तीकर्ताका रूपमा प्रस्तुत हुँदै सयौँ पश्चिमी कम्पनीमा प्रवेश गरेर अन्तर्राष्ट्रिय प्रतिबन्ध झेलिरहेको आफ्नो आणविक कार्यक्रमका लागि रकम जुटाउँदै आएको छ।

पछिल्ला वर्षहरूमा अमेरिकी सरकार यसविरुद्ध कारबाही गर्दै आएको छ, जसमा योजनामा संलग्न व्यक्तिमाथि मुद्दा दर्ता गर्नुका साथै अन्तर्राष्ट्रिय ठगी नेटवर्कमाथि प्रतिबन्ध लगाउनुजस्ता कदम समावेश छन्।

“यी अभियोगहरूले एउटा कुरा स्पष्ट गर्छन्: अमेरिकाले आफ्ना कम्पनी र कामदारलाई निशाना बनाई [उत्तर कोरिया] ले आफ्नो हतियार कार्यक्रमका लागि रकम जुट्न दिने छैन,” अमेरिकी अटर्नी जेसन ए. रेडिङ क्वीञोनेसले प्रेस विज्ञप्तिमा भने। “हामी न्याय विभागका साझेदारहरूसँग मिलेर यी योजनाहरू पत्ता लगाउने, चोरी भएको रकम फिर्ता ल्याउने र उत्तर कोरियाका गतिविधि सहज बनाउने हरूलाई कारबाहीमा ल्याउने काम जारी राख्नेछौँ।”

अड्रिकस फगनासे, जेसन सालाजार र एलेक्जान्डर पल ट्राभिस नामका तीन अमेरिकी नागरिकले वायर फ्रड नामक धोखाधडीको एक एक आरोपमा दोष स्वीकार गरेका छन्।

टेकक्रञ्चका अनुसार अभियोजकहरूले उनीहरूले अमेरिकाबाहिरबाट काम गर्दै गरेको थाहा पाउँदै पनि उत्तर कोरियाली आईटी कामदारलाई आफूहरूको पहिचान प्रयोग गरी रोजगारी पाउन सहयोग गरेको आरोप लगाएका छन्। उनीहरूले आफ्नै घरमा राखिएका कम्पनीका ल्यापटपहरूमा ती कामदारलाई टाढैबाट पहुँच दिने र ड्रग टेस्टजस्ता जाँच प्रक्रिया पार गराउन पनि सहयोग गरेको बताइएको छ।

योजनाका बेला अमेरिकी सेनामा सक्रिय रहेको भनी अभियोजकहरूले बताएका ट्राभिसले  यी कामबाट ५० हजार डलरभन्दा बढी कमाएको र फगनासे तथा सालाजारले क्रमशः कम्तीमा ३,५०० र ४,५०० डलर पाएको उल्लेख छ।

यो योजनामा अमेरिकी कम्पनीहरूले करिब १२.८ लाख डलर तलब तिरेका थिए, जसको अधिकांश हिस्सा विदेशमा रहेका उत्तर कोरियाली आईटी कामदारलाई पठाइएको डीओजेले जनाएको छ।

चौथो अमेरिकी नागरिक एरिक एन्टेकेरेजे प्रिन्सले पनि दोषी स्वीकार गरेका छन्। उनले ट्यागकार नामक कम्पनी चलाएका थिए, जसले अमेरिकी कम्पनीहरूलाई “प्रमाणित” आईटी कामदार उपलब्ध गराएको दावी गर्थ्यो, तर वास्तवमा ती कामदार विदेशबाट काम गरिरहेका र चोरी वा नक्कली पहिचान प्रयोग गरिरहेका थिए भन्ने अभियोग छ।

प्रिन्सले फ्लोरिडास्थित आफ्ना घरहरूमा रिमोट पहुँच सन्चालन हुने ल्यापटप राखेर सहयोग गरेको र यसबाट ८९ हजार डलरभन्दा बढी कमाएको डीओजेले जनाएको छ।

यस योजनामा संलग्न अर्को व्यक्ति युक्रेनी नागरिक ओलेक्सान्द्र डिदेन्को हुन्, जसले अमेरिकी नागरिकहरूको पहिचान चोरी गरी उत्तर कोरियालीहरूलाई बेचेको आरोप छ, जसको आधारमा ती कामदार ४० भन्दा बढी अमेरिकी कम्पनीमा जागिर पाउन सक्षम भएका थिए।

प्रकाशित: ३० कार्तिक २०८२, आईतवार

तपाइको प्रतिक्रिया