Technology Khabar २९ कार्तिक २०८२, शनिबार
काठमाडौं ।
दुई दिने ‘सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट २०२५ इन एशोसिएसन विथ टिङटिङ र पावर्ड बाई सस्तोटिकेट्स’ काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा सम्पन्न भएको छ।
फेस्टमा सातै प्रदेशका १५० भन्दा बढी स्टार्टअप र इन्नोभेसन सहभागी भएका थिए। कार्यक्रममार्फत सफ्टवेयर, रोबोटिक्स, ड्रोन, एआई, रकेट तथा एयरोस्पेसलगायतका उत्पादन र सेवाहरू प्रदर्शनीमा राखिएका थिए, जसले आइसिटी उद्योग जगतका प्रतिनिधिहरूलाई नेपाली युवा उद्यमशीलताको नवीनतम क्षमता नजिकबाट बुझ्ने अवसर प्रदान गरेको छ।
फेस्टको उद्घाटनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले पछिल्लो समय युवाहरूमा स्टार्टअप र इन्नोभेसनप्रतिको आकर्षण बढ्दै गएको उल्लेख गर्दै, सरकार पनि सूचना प्रविधि क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार र कानुनी सुधारमा निरन्तर काम गरिरहेको बताइन्।
यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले युवाहरूको नवीन सोच र आइडियालाई व्यवसायमा रूपान्तरण गर्न मन्त्रालयले स्टार्टअप कर्जा प्रदान गर्ने मात्र नभई उनीहरूलाई इन्क्युबेशन तथा एक्सिलेरेटर कार्यक्रमसँग जोड्ने कार्य गरिरहेको बताए। अब ट्रेडमार्क तथा आईपी दर्ता प्रक्रियालाई समेत अनलाइन प्रणालीमा रूपान्तरण गर्न लागिएको जानकारी पनि उनले दिए।
त्यसैगरी शुक्रबार फेस्ट अवलोकन गरेकी उपसभामुख इन्दिरा रानाले कार्यक्रममा सहभागी नवप्रवर्तक युवाहरूका आइडियाले देशमा रहेको ठूलो सम्भावना उजागर गरेको प्रतिक्रिया दिइन्।
आइसिटी विज्ञ मनोहर भट्टराईले फेस्ट जस्ता कार्यक्रमहरूले नेपालमा स्टार्टअप इकोसिस्टमलाई गतिशील बनाउने तथा लगानीकर्ता र नवप्रवर्तकबीच सहकार्य विस्तार गर्न उल्लेखनीय भूमिका खेल्ने बताए।
दुई दिनसम्म संचालित फेस्टमा दर्शकहरूले युवाहरूका स्टार्टअप, इन्नोभेसन र प्रोटोटाइपहरू हेर्दै देशमा विकास भइरहेको डिजिटल इकोसिस्टमलाई नजिकबाट बुझ्ने अवसर पाएका थिए।
फेस्टका संयोजक तथा लिभिङ विथ आइसिटीका अध्यक्ष राजन लम्सालले स्टार्टअपले ठूलो रोजगारी सिर्जना गर्ने र देशको जीडीपीमा पनि महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै उनले स्टार्टअपका लागि उपलब्ध गराइँदै आएको कर्जा पर्याप्त नरहेको बताए। यसलाई अनुदानमा रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको पनि उनले औल्याए।
फेस्टमा आइसिटी अवार्ड २०२५ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार र सोशल इन्नोभेसन विधाका ५० भन्दा बढी सेमिफाइनलिस्टहरू समेत सहभागी भएका थिए।
अवलोकनकर्ताहरूले ती उत्पादन र इन्नोभेसन प्रत्यक्ष अवलोकन गरी मनपरेका स्टार्टअप तथा आइडियालाई भोट दिएका थिए।
प्रकाशित: २९ कार्तिक २०८२, शनिबार