पृथ्वीको चुम्बकीय क्षेत्रको कमजोर भाग अझ ठूलो बन्दै, स्याटेलाइट र अन्तरिक्षयात्रीको लागि खतरा बढ्दै

Technology Khabar २९ कार्तिक २०८२, शनिबार

पृथ्वीको चुम्बकीय क्षेत्रको कमजोर भाग अझ ठूलो बन्दै, स्याटेलाइट र अन्तरिक्षयात्रीको लागि खतरा बढ्दै
तस्बिर: लाइभसाइन्स

काठमाडौं ।

पृथ्वीको सुरक्षात्मक चुम्बकीय क्षेत्रको कमजोर भाग अझ ठूलो बन्दै गएको र त्यसले कक्षामा रहेका उपग्रह र अन्तरिक्षयात्रीलाई बढी सौर्य विकिरणमा  गरिरहेको छ भन्ने तथ्य तीनवटा कक्षीय अवलोकन केन्द्रले करिब एक दशकभन्दा बढीको मापनबाट देखाएका छन्।

युरोपियन स्पेस एजेन्सीका तीनओटा स्वर्म उपग्रहले सन् २०१४ यता दक्षिण एटलान्टिक क्षेत्र (साउथ एटलान्टिक अनोमली–एसएए) को पहिल्यै कमजोर रहेको चुम्बकीय क्षेत्र झनै बिग्रेको र यसको क्षेत्रफल युरोप महादेशको आधा बराबरले बढेको फेला पारेका छन्।

उता क्यानडामाथिको बलियो चुम्बकीय क्षेत्र रहेको भाग सानो बन्दा साइबेरियातिरको बलियो क्षेत्र भने बढ्दा देखिएको मापनले देखाएको छ।

“दक्षिण एटलान्टिक क्षेत्रको कमजोर चुम्बकीय क्षेत्र स्वर्म उपग्रह समूह प्रक्षेपण भएको ११ वर्षयता निरन्तर ठूलो बन्दै गएको छ,” डेनमार्क्स टेक्निस्के युनिभर्सिटेकै भू-चुम्बकत्व विज्ञ क्रिस फिनलेले भने। “यसको विस्तार पहिलेका अवलोकनकै आधारमा अपेक्षित थियो तर पृथ्वीको चुम्बकीय क्षेत्रमा यस्तो परिवर्तन निरन्तर भइरहेको छ भन्ने पुष्टि हुनु महत्त्वपूर्ण छ।” फिनले स्वर्म उपग्रहको डाटामा आधारित नयाँ अध्ययनका प्रमुख लेखक हुन्।

स्वर्म उपग्रहहरूको उद्देश्य पृथ्वीको कोर र म्यान्टलबाट आउने चुम्बकीय संकेतहरू, साथै आयनमण्डल र चुम्बकमण्डलका संकेतहरू सूक्ष्म रूपमा निरन्तर मापन गर्नु हो।

पृथ्वीको चुम्बकीय क्षेत्र (भू-चुम्बकीय क्षेत्र) भुइँभन्दा करिब २,९०० किलोमिटर तल रहेको पग्लिएको फलामको घुमाइबाट उत्पन्न हुने मानिन्छ। तर यसको बल निरन्तर परिवर्तनशील हुने भएकाले यसको कार्यविधि वैज्ञानिकहरूले अझै सिकिरहेका छन्।

लाइभसाइन्सका अनुसार भू–चुम्बकीय क्षेत्रले पृथ्वीको सतहमा रहेका जीवलाई सूर्यबाट आउने हानिकारक आवेशित कणबाट जोगाउँछ। उत्तरी प्रकाशजस्ता अरोरामा सूर्यका आवेशित कण र चुम्बकीय क्षेत्रको अन्तरक्रिया देख्न सकिन्छ।

यही क्षेत्र अन्तरिक्षमा फैलिएको भएकाले यसले कक्षामा रहेका अधिकांश उपग्रह र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) लाई पनि जोगाइरहेको हुन्छ। तर अध्ययनका लेखकहरूका अनुसार कक्षीय यात्रामा एसएएको कमजोर क्षेत्रमा प्रवेश गर्ने अवकाशयान र अन्तरिक्षयात्री अहिले पहिलेभन्दा बढी विकिरणमा परिरहेका छन्।

स्याटेलाइटका उपकरणका लागि यस्तो विकिरणले बढी खराबी, क्षति वा कहिलेकाहीँ ब्ल्याकआउटसम्म गराउन सक्छ। “मुख्य असर हाम्रो लो-अर्थ–अर्बिटमा रहेका उपग्रह संरचनामा पर्छ,” फिनलेले भने। “उपग्रह कमजोर क्षेत्र हुँदै जाँदा बढी आवेशित कणमा पर्छन्, जसले इलेक्ट्रोनिक्समा समस्या ल्याउन सक्छ।”

कक्षामा रहेका मानिस पनि बढी विकिरण जोखिममा पर्छन्, जसले डीएनए क्षति र दीर्घकालीन रूपमा क्यान्सरको जोखिम बढाउन सक्छ।

“अन्तरिक्षयात्री पनि यस्ता कणमा पर्छन्, तर तिनीहरूको कक्षास्थित समय अधिकांश उपग्रहको आयुभन्दा कम हुन्छ,” फिनलेले भने। (आईएसएसमा रहेका अन्तरिक्षयात्री सामान्यतया करिब ६ महिना बस्छन्, तर उपग्रह प्रायः ५ वर्षभन्दा बढी—करिब १० गुणा—कक्षामा रहन्छन्।)

भू–चुम्बकीय क्षेत्र अन्य सामान्य चुम्बकीय स्वरूपभन्दा निकै कमजोर हुन्छ यसको बल २२,००० देखि ६७,००० न्यानोटेस्ला बीचमा हुन्छ। तुलना गर्दा साधारण फ्रिज म्याग्नेटको बल करिब १ करोड न्यानोटेस्ला हुन्छ।

एसएएमा भू–चुम्बकीय क्षेत्रको बल २६,००० न्यानोटेस्लाभन्दा तल छ। अध्ययनअनुसार सन् २०१४ यता यस क्षेत्रको आकार पृथ्वी सतहको करिब १ प्रतिशत बराबरले बढेको छ।

एसएएको सबैभन्दा कमजोर बिन्दु अहिले २२,०९४ न्यानोटेस्लामा पुगेको छ, जुन २०१४ यता ३३६ न्यानोटेस्लाले कम भएको हो।

उता उत्तरी क्यानाडामाथिको बलियो क्षेत्र ५७,००० न्यानोटेस्लाभन्दा माथि छ। उक्त क्षेत्र २०१४ यता पृथ्वी सतहको ०.६५ प्रतिशतले घटेको पाइयो भने त्यहाँको सबैभन्दा बलियो बिन्दु ५८,०३१ न्यानोटेस्लामा झरेको छ—२०१४ यता ८०१ न्यानोटेस्लाको कमी।

यसको विपरीत, साइबेरियाको बलियो चुम्बकीय क्षेत्र ०.४२ प्रतिशतले बढेको र त्यहाँको अधिकतम बल २०१४ यता २६० न्यानोटेस्लाले बढेर अहिले ६१,६१९ न्यानोटेस्ला पुगेको छ।

उत्तरी गोलार्धका यी परिवर्तनहरू अनपेक्षित रहेको फिनलेले बताए। “यो कोरभित्रको तरल धातुको प्रवाह–ढाँचासँग सम्बन्धित छ, तर वास्तविक कारण निश्चित छैन,” उनले भने।

अध्ययनले चुम्बकीय क्षेत्र छिट्टै उल्टिने कुनै संकेत भने भेटेन। पृथ्वीको चुम्बकीय क्षेत्र इतिहासमा सयौँ पटक उल्टिसकेको छ, तर “पेलिओम्याग्नेटिक अभिलेखले एसएएजस्ता कमजोर क्षेत्र देखिए पनि धेरैपटक उल्टो नहुन सक्छ भन्ने देखाउँछ,” फिनलेले भने। “हामी अहिले केही दशकदेखि शताब्दीसम्म रहनसक्ने स्वाभाविक उतार–चढाव देखिरहेका हौँ।”

सौर्य विकिरणको जोखिम बढ्दै गए पनि एसएएमाथि आउने उपग्रह र अन्तरिक्षयात्रीलाई जोगाउन बढी सुरक्षा प्रदान गर्ने अवकाशयान बनाउनु आवश्यक पर्ने अध्ययनले संकेत गर्छ। “कमजोरी बढ्दै गएकाले उपग्रहले अझ ठूलो क्षेत्रबाट प्रभाव भोग्नेछन्, त्यसैले भविष्यका मिशन डिजाइन गर्दा यो ख्याल गर्नुपर्छ,” फिनलेले भने।

यो अध्ययनमा सहभागी नभएका तर एसएए विषयमा अध्ययन गरेका फ्रान्सको नान्तेस विश्वविद्यालयका भू–भौतिक विज्ञ हागे अमिटका अनुसार विभिन्न वैज्ञानिकले भू–चुम्बकीय क्षेत्र परिवर्तनका कारणबारे अलग–अलग धारणा प्रस्तुत गरे पनि वास्तविक संयन्त्र अझै अज्ञात छ। “कुल मिलाएर, निरन्तर र उच्च गुणस्तरका भू–चुम्बकीय मापनले पृथ्वीको गहिराइमा भइरहेका प्रक्रियाबारे महत्वपूर्ण जानकारी दिने देखिन्छ,” उनले ईओसलाई इमेलमार्फत भने।

प्रकाशित: २९ कार्तिक २०८२, शनिबार

तपाइको प्रतिक्रिया