Technology Khabar २८ कार्तिक २०८२, शुक्रबार
काठमाडौं ।
गुल्मीको सदरमुकाम तम्घास र मुख्य का सिसिटिभी क्यामरा जडान हुन नसक्दा सुरक्षा चुनौती बढिरहेको छ।
सुरक्षाका दृष्टिले महत्त्वपूर्ण उपकरण सिसिटिभी क्यामरा तम्घासका बाख्रेछेडा, खानीगाउँ दोबाटो, उदिनढुङ्गा, जिपपार्क, फिल्म हल, अस्पताल लाइनमा दुई दुई वटा र गरिमा विकास बैक क्षेत्रमा एउटा सिसिटिभी क्यामरा जडान गर्नुपर्ने आवश्यकता रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
त्यसै गरी सदरमुकाम तम्घासका मुख्य नाका देउराली, नेटा र बाघमारेमा दुई / दुई वटा सिसिटिभी क्यामरा जडान गर्नुपर्ने प्रहरीले सुझाव दिएको छ। अहिलेसम्म तम्घासका विभिन्न क्षेत्रमा २२ वटा सिसिटिभी क्यामरा छन्। जिल्ला प्रशासन क्षेत्रमा चार तथा भगवती मन्दिर, बसपार्क, मिलनचोक, क्याम्पस रोड, र चिदिचौर रोडमा दुई दुई वटा क्यामरा जडान गरिएको छ।
खानीगाउँ, नयाँ बजार, भीमचोक, भुतबङ् गला, पुरानो बजार र अर्घाखाँची जिपपार्क क्षेत्रमा एक/एक वटा क्यामरा रहेका छन्। गुल्मी उद्योग वाणिज्य सङ्घ गुल्मीका उपाध्यक्ष ताराप्रसाद भुसालले सिसिटिभी क्यामरा सुरक्षाको हिसाबले अति आवश्यक भएकाले शान्तिसुरक्षा जस्तो कुरामा सरकार गम्भीर भएर बजेटको सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
अघिल्लो पटक पनि बजेट नभएका कारण विभिन्न सामाजिक सङ्घ संस्था तथा बैङ्कले रकम जुटाएर जोडिएको क्यामरा जडान गरिएको भुसालले बताए। उनले भने, “आवश्यक ठाउँमा तत्काल क्यामरा राख्नु पर्छ। स्रोत व्यवस्थापनको पहिलो दायित्व राज्यको हो अरू सामाजिक संस्थासँग पनि आवश्यक समन्वय गछौं।”
गुल्मी प्रहरीले सुरक्षाको हिसाबले सिसिटिभी क्यामरा राख्ने स्थानको पहिचान गरे पनि खरिद गरेर जडान गर्ने आर्थिक स्रोत कार्यालयसँग छैन। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले बिगतमा पनि विभिन्न स्थानीय तह र सङ्घ संस्थाले क्यामरा सहयोग गरेकाले अहिले पनि आवश्यक स्थानमा क्यामरा राख्न समन्वय गरिने जानकारी दिए।
क्यामराका कारण आपराधिक घटना कम गर्न सकिने र जस्तोसुकै घटना भए पनि प्रहरीले अपराधी पहिचान गर्न सजिलो हुने भएकाले सुरक्षाका महत्त्वपूर्ण उपकरण जडान गर्नुपर्ने बताए।
जिल्लामा जिल्ला प्रहरी कार्यालयसहित (क) र (ख) वर्गका दुई/दुई वटा इलाका प्रहरी कार्यालय रहेका छन्। स्थायी प्रहरी चौकी १६, अस्थायी प्रहरी चौकी पाँच र बिट सात वटा रहेका छन्। तीमध्ये आफ्नो भवनमा १२ र अरूको भवन तथा भाडामा २० प्रहरी कार्यालय रहेका छन्।
आजको गोरखापत्रबाट
प्रकाशित: २८ कार्तिक २०८२, शुक्रबार