Technology Khabar २८ कार्तिक २०८२, शुक्रबार
काठमाडौं ।
एउटा अग्रणी इन्टरप्राइज कृत्रिम बुद्धिमत्ता (एआई) उत्पादन तथा सेवाप्रदायक कम्पनीले बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि सम्बन्धी परामर्शदाता तथा साइबर सेक्युरिटी कम्पनी, जेनेस सलुशनलाई फ्युजमसिन्सको ग्लोबल रिसेलर नेटवर्कअन्तर्गत अधिकृत पुनर्विक्रेताको रूपमा चयन गरेको छ।
यही अक्टोबर महिनामा फ्युजमसिन्स अमेरिकाको नास्दाक धितोपत्र बजारमा सूचीकृत भएको थियो। समीर मास्केले स्थापना गरेको उक्त कम्पनी नास्दाकमा सूचीकृत हुने नेपालमा जन्मिएका उद्यमीले स्थापना गरेको पहिलो कम्पनी पनि हो।
यस साझेदारी अन्तर्गत, जेनेस सलुशनले फ्युजमसिन्स एआइ स्टुडियो र फ्युजमसिन्स ए आइ इन्जिन्सलाई पुनर्विक्री तथा लाइसेन्स प्रदान गर्न सक्नेछ, जसबाट ग्राहकहरूले खुद्रा व्यापार, रियल एस्टेट, खाद्य तथा पेय पदार्थ जस्ता विभिन्न क्षेत्रहरूमा उच्चस्तरीय, अनुकूलित तथा सटीक एआई–सक्षम समाधानहरू प्राप्त गर्न सक्नेछन्।
फ्युजमसिन्सका प्राविधिक प्रमुख अनिश जोशीले भने,“यो साझेदारी मार्फत हामी जेनेस सलुशनको अद्वितीय क्षेत्रीय दक्षतालाई अझ विस्तार गर्न चाहन्छौं। जेनेससँगको सहकार्यले व्यवसायहरूलाई एआई समाधान प्रयोग गरी नवप्रवर्तन र विकास गर्न नयाँ अवसर सिर्जना गर्नुका साथै उद्योगहरूमा एआईको दिगो र समावेशी अपनत्वलाई गति दिने आधार तयार गर्नेछ।
एआई स्टुडियोले विभिन्न क्षेत्रका कम्पनीहरूलाई छिटो र सजिलै एआई अंगाल्न सक्षम बनाउने क्षमता हाम्रो ‘एआईलाई सबैका लागि सुलभ बनाउने’ मिशनसँग मेल खान्छ। यो साझेदारी एआई–सक्षम उज्जवल भविष्यतर्फको एउटा महत्त्वपूर्ण पाइला हो।”
फ्युजमसिन्स एआइ स्टुडियो फ्युजमसिन्स एआई इन्जिन्सको मुख्य प्लेटफर्म हो, जसले उद्योग र समस्यानुसारका समाधानहरू प्रदान गर्छ। यसमा उच्चस्तरीय एआई एजेन्ट, जेनेरेटिभ एआई र प्रेडिक्टिभ एआई मोडेलहरू प्रयोग गरिन्छ।
यो प्लेटफर्मले संस्थाको कार्यसम्पादन सुधार्ने, संगठनको आवश्यकता अनुसार अनुकूलन हुने, उच्च प्रतिफल दिने र विद्यमान उपकरणहरूसँग सहज रूपमा एकीकृत हुने क्षमता राख्छ।
यसले नवप्रवर्तन प्रवर्द्धन, निर्णय प्रक्रियामा गति, लागत घटाउने र उत्पादनमा एलएलएम तथा एमएल मोडेलहरूको छिटो प्रयोग र अनुगमन सुलभ बनाउँछ। धोखाधडी पत्ता लगाउने, सूचना प्राप्ति र पूर्वानुमान जस्ता पहिले नै तयार गरिएका इन्जिनहरू पनि यसमा समावेश छन्।
जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी कुमार फुयाँलले भने, “हामी फ्युजमसिन्ससँग साझेदारी गरेर एआई स्टुडियोलाई हाम्रो बजारमा रहेका व्यवसायहरूमा पुर्याउन पाउँदा अत्यन्त उत्साहित छौं। जेनेसमा हामी उद्योगहरूमा डिजिटल रुपान्तरण र एआई अपनत्वलाई तीव्र बनाउन केन्द्रित छौं। एआई स्टुडियोले संस्थाहरूलाई उनीहरूको विद्यमान प्रणालीमा एआई सहज रूपमा समायोजन गर्न, डाटा–आधारित अन्तर्दृष्टि निकाल्न र जिम्मेवार तथा कुशल रूपमा नवप्रवर्तन विस्तार गर्न सक्षम बनाउँछ। यो साझेदारीले हरेक व्यवसायलाई आत्मविश्वासका साथ एआईको रूपान्तरणकारी शक्तिको लाभ लिन सशक्त बनाउने हाम्रो साझा दृष्टिकोणलाई प्रतिबिम्बित गर्छ।”
प्रकाशित: २८ कार्तिक २०८२, शुक्रबार