Technology Khabar २८ कार्तिक २०८२, शुक्रबार
काठमाडौं ।
एआई स्टार्टअप कम्पनी एन्थ्रोपिकले बुधबार अमेरिकामा डाटा सेन्टर निर्माणका लागि ५० अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ। एआई पूर्वाधार विस्तारको प्रतिस्पर्धामा कम्पनीहरूले ठूलो पुँजी लगानी गरिरहेका बेला यो ताजा लगानी हो।
क्लाउड एआई मोडेल निर्माण गर्ने यस कम्पनीले इन्फ्रास्ट्रक्चर प्रदायक फ्लुइडस्ट्याकसँग मिलेर टेक्सास र न्यूयोर्कमा ती सुविधा स्थापनाको योजना बनाएको छ, र भविष्यमा अन्य स्थानहरूमा पनि विस्तार गर्ने जनाएको छ। यी डेटा सेन्टरहरू एनथ्रोपिकका लागि विशेष रूपमा निर्माण गरिने छन्।
रोयटर्सका अनुसार यस वर्ष प्रविधि कम्पनीहरूले अमेरिकी भूमिमा आफ्नो उपस्थिति विस्तार गर्ने उद्देश्यसहित ठूलो खर्च योजनाहरू घोषणा गरेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको एआई क्षेत्रमा अग्रता कायम राख्न आफ्नै भूमिमा लगानी बढाउने अभियान चलाइरहेका छन्।
ट्रम्पले यस वर्ष जनवरीमा प्रशासनलाई “विश्वको एआई राजधानी अमेरिका बनाउने” उद्देश्यसहित एआई कार्ययोजना (एआई एक्शन प्लान) तयार गर्न निर्देशन दिएका थिए। सो अभियानअन्तर्गत अमेरिकन कम्पनीहरूले जुलाईमा ट्रम्पको टेक र एआई शिखर सम्मेलनमा ठूला एआई र ऊर्जा लगानी प्रतिबद्धताहरू सार्वजनिक गरेका थिए।
एन्थ्रोपिकका अनुसार यस परियोजनाबाट अमेरिकाभर करिब ८०० स्थायी रोजगारी र २,४०० निर्माणसम्बन्धी रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ। डेटा सेन्टरहरू २०२६ भित्र सञ्चालनमा आउनेछन्।
यो लगानी “ट्रम्प प्रशासनको एआई कार्ययोजनामा उल्लेखित अमेरिकी एआई नेतृत्व कायम राख्ने र देशभित्रै प्रविधि पूर्वाधार सुदृढ गर्ने लक्ष्यलाई अघि बढाउने” बताइएको छ। स्यान फ्रान्सिस्कोस्थित यो कम्पनी गुगलको अभिभावक कम्पनी एल्फाबेट र अमेजनबाट समर्थित हो। कम्पनीको मूल्याङ्कन यो वर्ष सेप्टेम्बर सुरुमा १८३ अर्ब डलर गरिएको थियो।
प्रकाशित: २८ कार्तिक २०८२, शुक्रबार