सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट जारी, दर्शकको उल्लेख्य सहभागिता

Technology Khabar २७ कार्तिक २०८२, बिहीबार

काठमाडौं ।

राजधानीमा बिहीबारदेखि दुई दिने ‘सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट २०२५’ प्रदर्शनी सुरु भएको छ। काठमाडौँको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा हुने यस फेस्टमा सातै प्रदेशका १५० भन्दा बढी स्टार्टअप र इन्नोभेसन सहभागी रहेका छन्।

लिभिङ विथ आइसिटी, आइसिटी फाउन्डेसन नेपाल र स्क्वाड अफ चेन्जमेकरले संयुक्त रुपमा आयोजना गरेको यो फेस्टमा सफ्टवेयर, रोबोटिक्स, ड्रोन, एआई प्रविधि, रकेट तथा एयरोस्पेससम्बन्धी उत्पादन तथा सेवाहरू प्रदर्शनी गरिएका छन्।

कात्तिक २७ र २८ गते (बिहीबार र शुक्रबार) दुईदिनसम्म चल्ने फेस्टमा ड्रोन तथा रोबोटिक्स प्रतियोगिता र जब फेयर समेत सञ्चालन छन्।

फेस्टमा आइसिटी अवार्ड २०२५ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार, सोसल इन्नोभेसन लगायत विधाका ५० भन्दा बढी सेमिफाइनलिस्टहरू पनि सहभागी रहेका छन्। अवलोकनकर्ताले ती प्रडक्ट तथा इन्नोभेसनलाई प्रत्यक्ष अवलोकन गर्ने र भोट गर्ने अवसर पाउनेछन्।

देशमै कार्यरत युवा स्टार्टअप, विद्यार्थी र इन्नोभेटरलाई प्रवद्र्धन गर्न तथा उद्यमशीलताको विकासमा टेवा पुर्याउने उद्देश्यले यो फेस्ट आयोजना गरिएको आयोजकले बताएको छ।

निःशुल्क प्रवेश रहेको फेस्टमा इच्छुक युवाहरूलाई आफ्ना सिर्जनात्मक प्रविधि र इन्नोभेसन प्रत्यक्ष अवलोकन गर्ने अवसर प्रदान गर्ने थप उल्लेख गरिएको छ।

त्यस्तै, प्रदर्शनीमा रहेका स्टार्टअप र प्रडक्टमा लगानी गर्न इच्छुक लगानीकर्ताहरूका लागि प्रडक्ट डेमो र नेटवर्किङ सेसनको व्यवस्था पनि गरिएको छ।

फेस्टको पहिलो दिनमा विभिन्न क्षेत्रका उद्यमी, कर्पोरेट लिडर, नीति निर्माता, उच्च सरकारी अधिकारी, लगानीकर्ता र विद्यार्थीहरूले उपस्थिति जनाएका छन्।

नेपालको स्टार्टअप तथा इन्नोभेसन क्षेत्रको वर्तमान अवस्था बुझ्न र युवाहरूले देशमै कस्ता प्रविधि विकास भइरहेका छन् भन्ने बुझ्न फेस्ट उपयोगी हुने आयोजकको विश्वास छ।

सूचना प्रविधिको क्षेत्रमा प्रतिष्ठित मानिने आइसिटी अवार्ड २०२५ का लागि हाल विभिन्न १५ विधामा छनोट प्रक्रिया जारी रहेको छ। यस वर्ष अवार्डका लागि ७ सयभन्दा बढी अनलाइन नोमिनेसन प्राप्त भएको आयोजकले जनाएको छ।

प्रकाशित: २७ कार्तिक २०८२, बिहीबार

तपाइको प्रतिक्रिया