Technology Khabar २७ कार्तिक २०८२, बिहीबार
काठमाडौं ।
मेटाको एक्स प्रतिस्पर्धी थ्रेड्सले अब विशेष प्रकारका क्रिएटर अर्थात् पोडकास्टरहरूलाई लक्षित गर्न सुरु गरेको छ। कम्पनीले मंगलबार जनाए अनुसार थ्रेड्सले अब आफ्नै एपमा पोडकास्टसम्बन्धी छलफल बढाउने र क्रिएटरहरूलाई आफ्ना कार्यक्रम प्रचार गर्न मद्दत गर्ने योजना बनाएको छ।
सुरुवाती चरणमा थ्रेड्सले यसका लागि केही नयाँ सुविधा ल्याउनेछ। अब प्रयोगकर्ताले फिडमा देख्ने पोडकास्ट लिङ्कहरू रंगीन पृष्ठभूमि र चित्रसहितका थम्बनेलसहित फरक र आकर्षक देखिनेछन् जसले ती लिङ्कहरू सहजै चिनिने बनाउनेछ।
त्यसैगरी क्रिएटरहरूले आफ्नो प्रोफाइलमा पोडकास्टको लिङ्क राख्न छुट्टै स्थान पाउनेछन्। थ्रेड्सका अनुसार यसले पोडकास्टरहरूलाई आफ्ना कार्यक्रमलाई प्रभावकारी रूपमा प्रचार गर्न र दर्शकहरू बढाउन मद्दत गर्नेछ।
आगामी वर्षमा कम्पनीले पोडकास्टर र श्रोताहरूलाई ध्यानमा राखेर थप सुविधा ल्याउने योजना पनि बनाएको मेटाका प्रवक्ताले टेकक्रञ्चसँग बताएका छन्। मेटाले पोडकास्ट समुदायमा चासो देखाउनुको कारण, यसलाई छलफल र क्रिएटरहरूसँगको अन्तर्क्रिया हुने मुख्य प्लेटफर्म बनाउन सकिने सम्भावना देख्नु हो।
अहिले यस्ता छलफलहरू रेडिट, एक्स, फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरूमा र युट्युब तथा स्पोटिफाइ जस्ता स्ट्रिमिङ प्लेटफर्महरूमा बिखरिएका छन्।
मेटाले पोडकास्टको सांस्कृतिक प्रभावलाई पनि ध्यानमा राखेको छ, जसले प्रयोगकर्ताबीचको संवाद र सहभागिता बढाउन सक्छ। हाल थ्रेड्सका मासिक सक्रिय प्रयोगकर्ता ४० करोडभन्दा बढी र दैनिक सक्रिय प्रयोगकर्ता १५ करोड छन्। एक्ससँग तुलना गर्दा (जसका ६० करोड मासिक प्रयोगकर्ता छन्) पोडकास्ट समुदाय आकर्षित गर्न सकेमा यो अन्तर उल्लेखनीय रूपमा घट्न सक्छ।
तर कम्पनीले टेकक्रञ्चलाई दिएको जानकारीअनुसार, थ्रेड्स आफैं पोडकास्ट वितरण प्लेटफर्म बन्ने योजना भने राख्दैन। यसको सट्टा, थ्रेड्सले पोडकास्ट होस्टहरूलाई आफ्ना कार्यक्रमबारे भएका छलफलका तथ्यांक र प्रतिक्रियाबारे अझ बढी जानकारी दिनेछ, साथै श्रोताहरूलाई मन पर्ने नयाँ पोडकास्ट खोज्न र क्रिएटरहरूसँग जोडिन सजिलो बनाउने सुविधा विकास गर्नेछ।
यो थ्रेड्सले क्रिएटरलाई लक्षित गरेको पहिलो प्रयास होइन। गत मे महिनामा कम्पनीले प्रयोगकर्तालाई प्रोफाइलमा पाँचवटा लिङ्क राख्ने सुविधा दिएको थियो, जसले उनीहरूलाई अन्य सामाजिक सञ्जाल, भिडियो प्लेटफर्म, ब्लग वा पोर्टफोलियो प्रचार गर्न मद्दत गरेको थियो।
हालै कम्पनीले ‘टेक्स्ट अट्याचमेन्ट’ सुविधा पनि थपेको छ, जसले क्रिएटरहरूलाई लामो विचार र दृष्टिकोण साझेदारी गर्न सजिलो बनाएको छ।
प्रकाशित: २७ कार्तिक २०८२, बिहीबार