अफ्रिकामा उच्च गतिको इन्टरनेट उपलब्ध गराउन भोडाकम ग्रुपद्वारा स्टारलिंकसँग सम्झौता

Technology Khabar २७ कार्तिक २०८२, बिहीबार

काठमाडौं ।

दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक कम्पनी भोडाकम ग्रुपले एलन मस्कको स्टारलिंकसँग अफ्रिकाभरका व्यवसायिक ग्राहकहरूलाई उच्च गतिका तथा कम ढिलाइका इन्टरनेट सेवा उपलब्ध गराउन सम्झौता गरेको बुधबार जनाएको छ।

२२ करोडभन्दा बढी ग्राहक रहेको भोडाकमका लागि ग्रामीण अफ्रिका अझै पनि चुनौतीपूर्ण क्षेत्र बनेको छ। न्यून जनघनत्व, कठिन भू–भाग र सीमित स्मार्टफोन प्रयोगका कारण परम्परागत टावर विस्तार खर्चिलो भइरहेको छ। ब्रिटेनस्थित भोडाफोनको स्वामित्वमा रहेको भोडाकमले अफ्रिकामा इन्टरनेट पहुँच विस्तारका लागि लो–अर्थ अर्बिट उपग्रह प्रविधि अपनाउने प्रयास गर्दै आएको छ, जसले दुर्गम क्षेत्रहरूमा समेत इन्टरनेट सेवा पुर्‍याउन सक्ने बताइएको छ।

कम्पनीले स्टारलिंकको उपग्रह प्रविधिलाई आफ्नो मोबाइल नेटवर्कमा एकीकृत गर्ने र अफ्रिकाभरका ग्राहकहरूलाई स्पेसएक्स स्वामित्वको कम्पनीका उपकरण र सेवाहरू पुनःबिक्री गर्ने अनुमति पाउने जनाएको छ।

“हामी स्टारलिंकलगायत विभिन्न उपग्रह सेवा प्रदायकहरूसँग सहकार्य गर्दै आएका छौं, जसमा एएसटी स्पेसमोबाइल र अमेजनको प्रोजेक्ट कुइपर पनि समावेश छन्,” भोडाकमका प्रमुख कार्यकारी शमीएल जोसुबले सोमबार अन्तरिम नतिजा सार्वजनिक गरेपछि रोयटर्ससँग भने।

भोडाकमको प्रमुख प्रतिस्पर्धी एमटीएन ग्रुपले पनि उपग्रह सेवा प्रदायकहरूसँग सहकार्यको सम्भावना खोजिरहेको छ भने भोडाफोनले अमेजनको एलईओ उपग्रह परियोजना ‘प्रोजेक्ट कुइपर’ र एएसटी स्पेसमोबाइलसँग साझेदारी गरेको छ।

प्रकाशित: २७ कार्तिक २०८२, बिहीबार

तपाइको प्रतिक्रिया