विकिपिडियाले ल्यायो नयाँ सब्स्क्रिप्शन योजना, आफ्ना सामग्री जिम्मेवारीका साथ प्रयोग गर्न आग्रह

Technology Khabar २६ कार्तिक २०८२, बुधबार

काठमाडौं ।

विकिपिडियाले सोमबार आफ्नै वेबसाइटलाई एआई युगमा पनि दिगो रूपमा सञ्चालन गर्न सहज योजना सार्वजनिक गरेको छ। ट्राफिक घट्दै गए पनि वेबसाइटलाई निरन्तर समर्थन मिलिरहने व्यवस्था गर्ने उद्देश्य राखिएको छ।

यो लोकप्रिय अनलाइन विश्वकोश सञ्चालन गर्ने विकिमिडिया फाउन्डेशनले ब्लग पोस्टमार्फत एआई डेभलपरलाई विकिपिडियाको सामग्री “जिम्मेवारीका साथ” प्रयोग गर्न आग्रह गरेको छ।

त्यसका लागि सामग्री प्रयोग गर्दा उचित श्रेय दिनु र विकिपिडियाको ‘विकिमिडिया इन्टरप्राइज’ नामक भुक्तानी सेवामार्फत पहुँच गर्नु पर्ने भनिएको छ।

टेकक्रञ्चका अनुसार यो स्वेच्छिक, भुक्तानीयोग्य सेवा कम्पनीहरूले विकिपिडियाको सामग्री ठूलो स्तरमा प्रयोग गर्दा वेबसाइटको सर्भरमा अत्यधिक भार नपरोस् भन्ने उद्देश्यले ल्याइएको हो। साथै, यस सेवाबाट प्राप्त आम्दानीले एआई कम्पनीहरूले विकिमिडियाको गैर–नाफामुखी मिशनलाई समर्थन गर्न सक्ने फाउन्डेशनले जनाएको छ।

फाउन्डेशनले सामग्री स्क्र्याप गर्ने एआई बोटहरूविरुद्ध कानुनी कारबाहीको चेतावनी भने दिएको छैन। तर हालै विकिपिडियाले मानवीय प्रयोगकर्ताजस्तो देखिने गरी एआई बोटहरूले वेबसाइट स्क्र्याप गरेको पत्ता लगाएको थियो।

बोट पहिचान प्रणाली अद्यावधिक गरेपछि मे र जुन महिनामा देखिएको असामान्य रूपमा बढी ट्राफिक ती एआई बोटबाट आएको फाउन्डेशनले बताएको छ। त्यही क्रममा “मानव प्रयोगकर्ताले गरेको पेज भ्यू गत वर्षको तुलनामा ८ प्रतिशत घटेको जनाएको छ।

अब विकिपिडियाले एआई विकासकर्ताहरूका लागि स्पष्ट मापदण्ड तय गरेको छ। फाउन्डेशनका अनुसार, जेनेरेटिभ एआई विकासकर्ताले प्रयोग गरेको सामग्रीका मानव योगदानकर्तालाई श्रेय दिनु जरुरी छ।

फाउन्डेशनको ब्लग पोस्टमा भनिएको छ, “इन्टरनेटमा साझा गरिएको जानकारीमा विश्वास कायम राख्नका लागि प्लेटफर्महरूले त्यस जानकारीको स्रोत स्पष्ट रूपमा जनाउनुपर्छ र प्रयोगकर्तालाई ती स्रोतमा गएर सहभागी हुन प्रोत्साहित गर्नुपर्छ। विकिपिडियामा कम आगन्तुक हुँदा सामग्री समृद्ध पार्ने स्वयंसेवकहरू घट्न सक्छन् र यस काममा सहयोग गर्ने दाताहरू पनि कम हुन सक्छन्।”

यसअघि, यस वर्षकै सुरुवातमा फाउन्डेशनले सम्पादकहरूको लागि आफ्नो एआई रणनीति सार्वजनिक गरेको थियो। उक्त रणनीतिमा एआई प्रयोग गरेर सम्पादनका दोहोरिने वा जटिल काम सहज बनाउने, अनुवाद स्वचालित गर्ने र सम्पादकहरूलाई सहयोग पुर्‍याउने अन्य उपकरण विकास गरिने उल्लेख गरिएको छ, तर एआईले मानव सम्पादकलाई प्रतिस्थापन भने नगर्ने स्पष्ट गरिएको छ।

प्रकाशित: २६ कार्तिक २०८२, बुधबार

तपाइको प्रतिक्रिया