Technology Khabar २६ कार्तिक २०८२, बुधबार
काठमाडौं ।
ग्रहहरूमा पानी धूमकेतु र ग्रहमण्डलका टुक्राबाट मात्रै आउने नभई ग्रह बन्दै गर्दा नै स्वाभाविक रूपमा पनि उत्पन्न हुन सक्ने नयाँ अध्ययनले देखाएको छ।
दशकौँदेखि वैज्ञानिकहरू पृथ्वीको पानी कहाँबाट आयो भन्नेबारे विवाद गर्दै आएका छन्। एक परम्परागत सिद्धान्तले पृथ्वी बनेपछि बाह्य सौरमण्डलबाट आएका बरफिला पिण्डहरूले पानी ल्याएको बताउँछ, भने अर्को सिद्धान्तले पृथ्वी बनाउने कच्चा पदार्थमै पानी बन्न आवश्यक तत्वहरू पहिले नै रहेका थिए भन्ने तर्क गर्छ। तर, अहिलेसम्म दोस्रो सिद्धान्तलाई यथार्थ प्रयोगशालाका अवस्थामा परीक्षण गरिएको थिएन।
स्पेस डटकमका अनुसार वैज्ञानिकहरूले हालै उच्च तापक्रम र उच्च दबाबमा ग्रह निर्माणको प्रारम्भिक अवस्थाको वातावरण जस्तै प्रयोगात्मक परिस्थिति सिर्जना गरेर परीक्षण गरेका छन्। ती परीक्षणले देखायो कि यस्तो चरम अवस्थामा पग्लिएको ढुंगो र हाइड्रोजन ग्यासबीचको प्रतिक्रियाबाट पानी स्वतः बन्न सक्छ।
यो नयाँ अध्ययन अक्टोबर ३० मा नेचर पत्रिकामा प्रकाशित भएको हो, जसले ग्रह विज्ञानको पुरानो प्रश्नमा नयाँ दृष्टिकोण दिएको छ र जीवनका लागि आवश्यक पानी ब्रह्माण्डका अन्य भागहरूमा पनि स्वाभाविक रूपमा बन्न सक्ने सम्भावना बढाएको छ।
“यो अनुसन्धानले ग्रह निर्माणको स्वाभाविक प्रक्रियामै ठूलो मात्रामा पानी बन्ने गर्छ भन्ने देखाउँछ,” वाशिङटन डी.सी.स्थित कार्नेगी इन्स्टिट्युसन फर साइन्सकी वैज्ञानिक तथा सह–अनुसन्धान प्रमुख अनात शाहारले विज्ञप्तिमा भनेकी छन्। “यो जीवन सम्भावित ग्रहहरू खोज्ने सोचमा ठूलो प्रगति हो।”
हालसम्म आकाशगंगामा पत्ता लागेका ६ हजारभन्दा बढी एक्सोप्लानेटमध्ये पृथ्वीभन्दा ठूला तर नेप्च्यूनभन्दा साना ग्रह — जसलाई सब–नेप्च्यून भनिन्छ — सबैभन्दा आम प्रकारका हुन्। यस्ता ग्रहहरूमा घना हाइड्रोजनयुक्त वायुमण्डल र ढुंगाको कोर भएको अनुमान गरिएको छ, जसले ग्रह निर्माणको प्रारम्भिक चरणमा पानी कसरी बन्न सक्छ भन्ने अध्ययनका लागि उपयुक्त नमूना बनाउँछ।
यसलाई बुझ्नका लागि शाहार र उनको टोलीले प्रयोगशालामा एउटा सानो सब–नेप्च्यून मोडेल तयार गरे। डायमन्ड एनभिल सेल नामक उपकरण प्रयोग गरेर उनीहरूले फलामयुक्त पग्लिएको ढुंगाको नमूनालाई पृथ्वीको वायुमण्डलीय दबाबभन्दा करिब ६ लाख गुणा बढी दबाबमा दवाए र ४,००० डिग्री सेल्सियस (७,२०० डिग्री फारेनहाइट) भन्दा बढी तापक्रममा तताए — जुन पग्लिएका ग्रहहरूको गहिराइमा पाइने तापसँग मिल्दोजुल्दो हो।
वैज्ञानिकहरूको भनाइमा, यो प्रयोगले ग्रह निर्माणको त्यो चरणको नक्कल गर्छ जब नयाँ ग्रहहरू युवा ताराहरू वरिपरि बाक्लो हाइड्रोजन ग्यासले ढाकिएका हुन्छन्। त्यस्तो ग्यासले “तापीय कम्बल” को रूपमा काम गर्दै ग्रहलाई लामो समयसम्म पग्लिएको अवस्थामा राख्छ, जसका क्रममा ढुंगो र ग्यासबीच रासायनिक प्रतिक्रिया हुन सक्ने स्पेस डटकमले उल्लेख गरेको छ।
यस्ता चरम अवस्थाहरूमा अनुसन्धानकर्ताले पत्ता हाइड्रोजन सजिलै पग्लिएको ढुंगामा घुल्छ र फलाम अक्साइडसँग प्रतिक्रिया गरेर ठूलो मात्रामा पानी उत्पादन गर्छ भन्ने लगाए। परिणामले पानी धूमकेतु वा उल्का जस्ता बाह्य स्रोतबाट आउने होइन, बरु ढुंगो र ग्यासबीचको स्वाभाविक रासायनिक प्रक्रियाबाट बन्न सक्छ भन्ने देखाउँछ।
यस निष्कर्षले पानी कुनै दुर्लभ खगोलीय संयोग होइन, बरु ग्रह निर्माणको स्वाभाविक परिणाम हो भन्ने देखाउँछ जसले गर्दा ब्रह्माण्डभर पानी पहिले सोचेभन्दा धेरै सामान्य हुन सक्ने संकेत गरेको छ।
प्रकाशित: २६ कार्तिक २०८२, बुधबार