Technology Khabar २६ कार्तिक २०८२, बुधबार
काठमाडौं ।
गुगलले विश्वभरका अर्बौँ स्मार्टफोन प्रयोगकर्तालाई सार्वजनिक वाई-फाई नेटवर्कमा जडान हुँदा बैंक खातामा भएको पैसा चोरी हुन सक्ने जोखिमबारे चेतावनी दिएको छ।
कम्पनीका अनुसार क्याफे, विमानस्थल वा सार्वजनिक स्थानमा भेटिने यस्ता नेटवर्क “एन्क्रिप्ट नभएका र साइबर आक्रमणकारीले सजिलै दुरुपयोग गर्न सक्ने” हुन्छन्, भनी टेलिग्राफलाई उद्धृत गर्दै विदेशी सञ्चारमाध्यमहरूले लेखेका छन्।
विशेषज्ञहरूले पनि लामो समयदेखि निशुल्क वाई-फाई नेटवर्कमार्फत अपराधीहरूले व्यक्तिगत तथा आर्थिक जानकारी चोरी गर्न सक्ने चेतावनी दिँदै आएका टेलिग्राफले उल्लेख गरेको छ।
गुगलले प्रयोगकर्तालाई सकेसम्म यस्ता नेटवर्कमा जडान नगर्न सुझाव दिएको छ। साथै, बैंक खाता र क्रेडिट रिपोर्ट नियमित रूपमा जाँच गर्न पनि सल्लाह दिएको छ।
कम्पनीका अनुसार एन्ड्रोइड उपकरणहरूले सम्भावित ठगी पहिचान गरेर सचेत गराउन सक्छन्, त्यसैले प्रयोगकर्ताले ती सूचना वा चेतावनीहरूमा ध्यान दिनुपर्छ।
प्रकाशित: २६ कार्तिक २०८२, बुधबार