Technology Khabar २४ कार्तिक २०८२, सोमबार
काठमाडौं ।
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘वर्ल्डलिंक सिक्सजी’ नामक आफ्नो अर्को पुस्ताको वाइफाइ राउटरसहितको सेवा सार्वजनिक गरेको छ।
कम्पनीले नयाँ वाईफाई ६ राउटर प्रविधिले घर र बहु-तले भवनहरूमा थप कभरेज पुर्याउन मद्दत गर्ने बताएको छ, भने यसले अहिलेको वाइफाइ ५ राउटर भन्दा ४० प्रतिशत बढी कभरेज प्रदान गर्ने दाबी छ।
वर्ल्डलिंकले नयाँ प्रविधिले चार गुणा तिब्र गति र बढी भरपर्दो कार्यसम्पादन प्रदान गर्ने बताएको छ, जुन ४के स्ट्रिमिङ, अनलाइन गेमिङ र भिडियो कन्फरेन्सिङ जस्ता आधुनिक ब्यान्डविथ अधिक खपत गर्ने कार्यहरूको लागि महत्त्वपूर्ण छ।
वर्ल्डलिंकका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलीप अग्रवालले नयाँ प्रविधिको घोषणा गर्दै वाइ-फाइ ६ को सुरुवात देशको लागि स्मार्ट, छिटो र बढी कुशल डिजिटल युगतर्फको महत्वपूर्ण कदम भएको उल्लेख गरे। उनले अहिलेको अवस्थामा विश्वमै सबैभन्दा सस्तो मूल्यमा वाईफाई ६ राउटरसहितको इन्टरनेट सेवा दिने घोषणा गरे।
विश्वव्यापी रूपमा मान्यता प्राप्त वाईफाई ६ (८०२.११एक्स) स्ट्याण्डर्डलाई जनाउने यो लन्चिङ्गले नेपाली सेवाग्राहीको इन्टरनेट अनुभवलाई रूपान्तरण गर्न डिजाइन गरिएको प्रमुख प्राविधिक अपग्रेडलाई जनाउँछ।
यसैगरी, वर्ल्डलिंकले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को टोली काठमाडौं गोर्खालाई मुख्य प्रायोजन गरेको घोषणा समेत गरेको छ।
वर्ल्डलिंकका सीईओ केशव नेपालले नोकियासँगको सहकार्यमा र नेपाली बजारलाई ध्यानमा राखेर नयाँ प्रविधिमा समेत अरु देशको तुलनामा सस्तो मूल्यमा इन्टरनेट सेवा दिन सकिएको दाबी गरे।
कम्पनीले अहिलेका लागि वर्ल्डलिंक सिक्सजीअन्तरगत शुरुवाती ४०० एमबीपीएसको मूल्य १२०९ रुपैयाँ कर बाहेकको मासिक सेवा शुल्कमा सेवा दिने बताएको छ। यस्तै ५०० एमबीपीएसको १३३४ रुपैयाँ मासिक तथा ६०० एमबीपीएसको १६६७ रुपैयाँ मासिक शुल्क तोकिएको छ।
वर्ल्डलिंकको वाइ-फाइ ६ सेवाको सुरुवातले नेपालको दूरसञ्चार क्षेत्रको प्रतिस्पर्धी परिदृश्य र प्राविधिक भविष्यमा तत्काल र दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ।
प्रकाशित: २४ कार्तिक २०८२, सोमबार