Technology Khabar २३ कार्तिक २०८२, आईतवार
काठमाडौं ।
बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि कम्पनी जेनेस सलुशनले शुक्रबार कागेश्वरी मनोहरा नगरपालिकासँगको सहकार्यमा दोस्रो चरण (सेकेन्ड ब्याच) का रूपमा स्थानीय युवाहरूका लागि सूचना प्रविधि सम्बन्धी रोजगार कार्यशाला आयोजना गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै जेनेस सलुशनका कार्यकारी निर्देशक भीम ढकालले स्थानीय युवाहरूलाई कार्यशालामा सक्रिय सहभागिता जनाउँदै आफ्ना सीपहरू अभिवृद्धि गर्न आग्रह गरे। उनले भने, “आईटी साक्षरता अहिले सबै उमेर समूहका मानिसका लागि आवश्यक भइसकेको छ, विशेष गरी युवाहरूका लागि।”
कार्यक्रममा प्रस्तुति दिँदै जेनेस सलुशनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकारी अञ्जनी फुयाँलले डिजिटल शासनमा रहेको खाडल हटाउन सके हजारौं रोजगारी सिर्जना गर्न सकिने र नेपाल आफ्नै शर्तमा विश्वसँग जोडिन सक्ने बताए।
फुयाँलले जेनेस सलुशनले कागेश्वरी मनोहरा नगरपालिकासँगको सहकार्यमा स्थापना गरेको जेनेस टेक्नोलोजी एण्ड एक्सलेन्स सेन्टर (G-TEC) अन्तर्गत पहिलो चरणको सफलता पछि दोस्रो ब्याच सुरु गरिएको पनि जानकारी दिए। उनले भने, “यो केन्द्रले समुदायका सदस्यहरू—विशेष गरी स्थानीय युवाहरूलाई—उद्योगसँग मेल खाने सीप प्रदान गर्दै, नवप्रवर्तनलाई प्रोत्साहन गर्दै र दिगो रोजगारीतर्फको बाटो खोल्दै सशक्त बनाउने काम गर्दै आएको छ।”
यूके र आयरल्यान्डका लागि अमेजन वेब सर्भिसेज (एडब्लुएस) का एम्बासडर समेत रहिसकेका फुयाँलले केन्द्रमार्फत युवाहरूलाई एडब्लुएस, माइक्रोसफ्ट एजर र गुगल क्लाउड का अन्तर्राष्ट्रिय प्रमाणपत्र कोर्सहरूसँग जोड्ने तथा तालीम प्राप्त युवाहरूलाइ प्रत्यक्ष रूपमा आईटी रोजगारी बजारसँग जडान गराउने योजना रहेको बताए। उनले थपे, “प्रविधि भनेको औजार मात्रै होइन, यो मानिसहरूको बारेमा हो। त्यसैले हामी सबैले युवाहरूलाई नवप्रवर्तन गर्न सक्ने, अरूलाई उत्प्रेरित गर्न सक्ने र नेतृत्व लिन सक्ने अवसर सिर्जना गर्न हातेमालो गर्नुपर्छ।”
हामीले सुरु गरेको यो दोस्रो ब्याच केवल तालिमको निरन्तरता होइन-यो अवसर सिर्जना र भविष्य निर्माणको अभियान हो, फुयाँलले भने।
कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले प्रविधि शिक्षाले समुदायमा ल्याउन सक्ने विशाल अवसरहरूबारे जोड दिए। उनले भने, “आजका युवाहरू त्यस्तो शिक्षा खोजिरहेका छन् जसले उनीहरूलाई रोजगारीमा पुग्न सहयोग पुर्याओस्। हामी जेनेस सलुशनसँग सहकार्य गर्न पाउँदा अत्यन्तै खुशी छौं र यस समयोचित पहलका लागि जेनेसलाई हार्दिक धन्यवाद दिन चाहन्छौं।”
त्यसैगरी, नगरपालिकाको वडा नं. ६ का अध्यक्ष प्रकाश फुयालले धेरै युवा रोजगारीको अवसर नपाएर विदेशिन बाध्य भएको उल्लेख गर्दै समुदायमै बसेर सीप सिक्ने र रोजगारी पाउने अवसर सिर्जना गरिदिएकोमा जेनेस सलुशनलाई धन्यवाद दिए। उनले नगरपालिकाको तर्फबाट यस अभियानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए।
यसै वर्ष अगस्ट महिनामा जेनेस सलुशन र कागेश्वरी मनोहरा नगरपालिकाबीच डिजिटल साक्षरता र कार्यस्थल तत्परता अभिवृद्धि गर्ने उद्देश्यले एक समझदारीपत्रमा हस्ताक्षर भएको थियो। हालसम्म करिब ७० जना स्थानीय युवाहरू विभिन्न तालिमका लागि केन्द्रमा दर्ता भइसकेका जारी विज्ञप्तीमा उल्लेख छ।
प्रकाशित: २३ कार्तिक २०८२, आईतवार