काठमाडौं ।
फिनटेक कम्पनी एलोइ प्रालिले सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट फर नेपाल (सेट फोर नेपाल) परियोजनाको सहयोगमा महिला विद्युतीय सवारी चालकहरुको लागि तालिम तथा रोजगारी सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिरहेको छ।
यस परियोजनाको उद्देश्य काठमाडौं उपत्यकाभित्र विद्युतीय माइक्रोबस चलाउन इच्छुक महिलाहरूलाई सवारी सञ्चालनका लागि आवश्यक सीप, चालक अनुमतिपत्र (लाइसेन्स) तथा रोजगारीका अवसरहरू प्रदान गर्दै सार्वजनिक यातायात क्षेत्रमा उनीहरूको सहभागिता सुनिश्चित गर्नुरहेको छ।
यो पहलले नेपाल सरकारको दिगो र समावेशी यातायात प्रणाली निर्माण गर्ने लक्ष्य पूरा गर्न सहयोग गर्ने कम्पनीको दावी छ।
सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट फर नेपाल (SET4NPL), संस्थाका सिनियर प्रडक्ट म्यानेजर बिराट सिंह ठकुरीले भने, “यस सहकार्यमार्फत हामीले स्वच्छ यातायात प्रवर्द्धन मात्र होइन, महिलाहरूलाई आर्थिक रूपमा सबल र स्वतन्त्र बन्ने अवसर पनि सिर्जना गर्दैछौं।”
एलोइ प्रालिले नेपालका लागि दिगो विद्युतीय यातायात (सेट फोर नेपाल) परियोजनाको सहयोगमा महिला विद्युतीय सवारी चालकहरूको लागि तालिम तथा रोजगारी सम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको छ।
यसैगरी ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युट नेपालका सिनियर प्रोग्राम अफिसर प्रतिक कार्कीले भने, “सेट फोर नेपाल परियोजनाले सार्वजनिक यातायात क्षेत्रमा महिलाहरूको सहभागिता बढाउने लक्ष्य राखेको छ। तीन-पाङ्ग्रे इलेक्ट्रिक टेम्पो सञ्चालनमा महिलाहरूले देखाएको सफलतासँगै, परियोजनाले चार पाङ्ग्रे इलेक्ट्रिक मिनी र माइक्रोबस सञ्चालनका लागि तालिम र कार्यशालाहरूको माध्यमबाट सहयोग गर्दै यो पेशालाई अझ समावेशी बनाउँछ।”
मुख्य परियोजनाका उद्देश्यहरु (मोड्युलहरू):
इलेक्ट्रिक माइक्रोबस (ईएएमबी) ड्राइभिङ र लाइसेन्स प्राप्ति
प्राविधिक मर्मत र सवारी व्यवस्थापन सीप
व्यवसाय व्यवस्थापन र वित्तीय साक्षरता नेतृत्व विकास र सशक्तिकरण
नेपालको हरित रूपान्तरणमा सहयोग
सेट फोर नेपाल परियोजना मिटिगेशन एक्शन फ्यासिलिटीको सहयोगमा जीआईजेड र जीजीजीआईद्वारा कार्यान्वयन भइरहेको छ र एलोइ यस परियोजनाको साझेदार हो।
एलोइ प्रालि सन् २०१९ मा स्थापना गरिएको एक फिनटेक कम्पनी हो जसले हरित यातायात र कृषि क्षेत्रका सूक्ष्म उद्यमीहरूलाई डिजिटल वित्तीय समाधान प्रदान गर्दछ। डिजिटल टोकन प्रणालीमार्फत अलोइले वित्तीय पारदर्शिता र कार्यक्षमता सुनिश्चित गर्दै दिगो प्रयोजनका लागि लगानी गरिएको प्रत्येक रकमको ट्र्याकिङ सम्भव बनाएको छ।
एलोइले नेपालभरका ३-पाङ्ग्रे र ४ पाङ्ग्रे विद्युतीय सवारी साधनहरूका लागि सजिलो वित्तीय पहुँच प्रदान गर्दै, स्वच्छ र समावेशी यातायात प्रणाली प्रवर्द्धन गरिरहेको जनाएको छ।
प्रकाशित: २१ कार्तिक २०८२, शुक्रबार