Technology Khabar १९ कार्तिक २०८२, बुधबार
काठमाडौं ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते आगजनी गरी क्षति पुऱ्याइएको जिल्ला प्रशासन कार्यालय बाँकेमा वितरणका लागि बाँकी रहेका राष्ट्रिय परिचयपत्र सुरक्षित पाइएको छ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्णबहादुर खत्रीले जेनजी आन्दोलनका क्रममा आगजनी गरेपछि प्रशासनभित्र रहेका अधिकांश फाइल जलेको भए पनि राष्ट्रिय परिचयपत्र सुरक्षित पाइएको जानकारी दिए। नागरिकता, राहदानीलगायत महत्त्वपूर्ण कागजात जलेर नष्ट भएका छन्।
खत्रीले भने, “राष्ट्रिय परिचयपत्र वितरण हुने भवनमा पनि आगजनी भएको छ तर सुरक्षित राखिएका कारण परिचयपत्र केही भएका छैनन्।” खत्रीले करिब २५ हजार राष्ट्रिय परिचयपत्र वितरणका लागि प्रशासनमा रहेको जानकारी दिए।
यसैबिच जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त जिल्ला प्रशासन कार्यालयको सेवा अझैसम्म पनि सम्पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।
आजको गोरखापत्रबाट
प्रकाशित: १९ कार्तिक २०८२, बुधबार