Technology Khabar १९ कार्तिक २०८२, बुधबार
काठमाडौं ।
जापानी व्यापार संगठन (कोडा) ले गत हप्ता ओपनएआईलाई पत्र लेख्दै अनुमति बिना सदस्य कम्पनीहरूको कपीराइट सामग्री प्रयोग नगर्न आग्रह गरेको छ। यो संगठनमा स्टुडियो गिब्ली जस्ता प्रमुख प्रकाशकहरू सामेल छन्।
‘स्पिरिटेड अवे’ र ‘माइ नेबर टोटोरो’ जस्ता चर्चित फिल्महरू बनाउने स्टुडियो गिब्लीलाई ओपनएआईका जेनेरेटिभ एआई उत्पादनहरूले विशेष रूपमा असर पारेको बताइएको छ।
यस वर्ष मार्चमा च्याटजीपीटीको इमेज जेनेरेटर सार्वजनिक भएपछि प्रयोगकर्ताहरूले आफ्ना सेल्फी वा पाल्तु जनावरका तस्वीरहरूलाई गिब्ली शैलीमा रूपान्तरण गर्ने ट्रेन्ड चलेको थियो। यहाँसम्म कि ओपनएआईका सीईओ साम अल्टम्यानले पनि आफ्नो एक्स प्रोफाइल तस्वीरलाई “गिब्लीकरण” गरेका थिए।
ओपनएआईको भिडियो जेनेरेटर सोरा एपमा अझ बढी प्रयोगकर्ताहरूको पहुँच बढ्दै गएको अवस्थामा कोडाले कम्पनीलाई अनुमति बिना सदस्यहरूको सामग्री प्रयोग नगर्न औपचारिक अनुरोध गरेको छ।
टेकक्रञ्चका अनुसार ओपनएआईको नीति प्रायः “पहिले प्रयोग गर, पछि माफी माग” भन्ने किसिमको रहेको भन्दै यसले कपीराइट सामग्रीबाट फोटो वा भिडियो बनाउन सहज बनाएको आरोप लागेको छ।
यस कारण निन्टेन्डो र मार्टिन लुथर किङ जुनियरका उत्तराधिकारीजस्ता संस्थाहरूले समेत आपत्ति जनाइसकेका छन्, किनभने सोरा जस्ता एपमार्फत उनीहरूको अनुहार र स्वर प्रयोग गरी ‘डीपफेक’ सामग्री बन्ने जोखिम रहन्छ।
ओपनएआईले यी मागहरू पालन गर्ने वा नगर्ने निर्णय आफैं गर्न सक्छ, तर असन्तुष्ट पक्षले कानुनी मुद्दा दायर गर्न सक्नेछन्। अमेरिकामा एआई प्रशिक्षणका लागि कपीराइट सामग्री प्रयोगबारे कानुन अझै स्पष्ट छैन।
सन् १९७६ पछि अद्यावधिक नभएको अमेरिकी कपीराइट कानुनमा यस्ता विषयमा स्पष्ट नजीर छैन। तर हालै अमेरिकी संघीय न्यायाधीश विलियम आल्सपले एन्थ्रोपिकले कपीराइट पुस्तकहरू प्रयोग गरेर एआई प्रशिक्षण गरेकोमा कानुनी उल्लंघन गरेको ठहर नगरे पनि ती पुस्तकहरू पाइरेसी गरेर प्रयोग गरेको कारण जरिवाना तोकेका थिए।
तर जापानमा भने यो कार्यलाई प्रतिलिपि अधिकारको उल्लंघन मानिने सम्भावना रहेको कोडाको दावी छ।
कोडाले भनेको छ, “यदि सोरा २ जस्ता एआईले विशेष कपीराइट भएका कार्यहरूलाई समान रूपमा पुनःनिर्माण गर्छ भने, त्यसलाई मेशिन लर्निङ प्रक्रियाको क्रममा भएको प्रतिलिपि कार्य ठान्न सकिन्छ। जापानको कपीराइट प्रणाली अनुसार, यस्ता सामग्री प्रयोग गर्न पहिले अनुमति आवश्यक हुन्छ, र पछि आपत्ति जनाएर जिम्मेवारी टार्ने व्यवस्था छैन।”
स्टुडियो गिब्लीका प्रमुख सर्जक हायाओ मियाजाकीले यस विषयमा प्रत्यक्ष प्रतिक्रिया नदिए पनि उनी सन् २०१६ मा देखाइएका एआई-निर्मित ३डी एनिमेशनप्रति “घृणा लागेको” बताएका थिए। त्यसबेला उनले भनेका थिए, “म यस्तो सामग्री हेर्न सक्दिन, न रोचक लाग्छ। यो जीवनप्रतिको अपमान हो भन्ने मलाई गहिरो महसुस हुन्छ।”
प्रकाशित: १९ कार्तिक २०८२, बुधबार