Technology Khabar १९ कार्तिक २०८२, बुधबार
काठमाडौं ।
गुगलको क्रोम ब्राउजरले अब पासपोर्ट, ड्राइभर लाइसेन्स, सवारी दर्ता प्रमाणपत्र लगायतका विवरणहरू स्वतः भर्ने (अटोफिल) सुविधा उपलब्ध गराउने भएको छ। यसबारे कम्पनीले सोमबार जानकारी दिएको हो। यो नयाँ सुविधा क्रोमको पहिलेको ठेगाना, पासवर्ड र भुक्तानी विवरणहरू स्वतः भर्ने क्षमतालाई विस्तार गर्नका लागि ल्याइएको बुजिएको छ।
टेलिग्राफका अनुसार ‘इम्प्रुभ्ड अटोफिल’ सुविधा सक्षम गरेका डेस्कटप प्रयोगकर्ताहरूले अब वेबसाइटहरूमा पासपोर्ट र ड्राइभर लाइसेन्स नम्बर, सवारी विवरण—जस्तै सवारीको नम्बर प्लेट वा भेइकल आइडेन्टिफिकेशन नम्बर—र अन्य जानकारीहरू स्वतः भरिएको देख्नेछन्।
गुगलका अनुसार क्रोमले अब जटिल फाराम र फरक–फरक ढाँचाका आवश्यकताहरूलाई अझ राम्रोसँग बुझ्न सक्छ, जसले वेबसाइटहरूमा विवरण भर्दा शुद्धता बढाउनेछ।
प्रयोगकर्ताले अनुमति दिएको अवस्थामा मात्र क्रोमले अटोफिलका लागि डाटा सङ्ग्रह गर्ने र ती विवरणहरू इन्क्रिप्शनमार्फत सुरक्षित गरिने कम्पनीले बताएको छ। साथै प्रयोगकर्ताको तर्फबाट विवरण भर्नेअघि क्रोमले सधैं पुष्टिको अनुरोध गर्नेछ।
यी नयाँ सुविधा सोमबारदेखि विश्वभरका सबै भाषामा उपलब्ध भएका छन्। कम्पनीका अनुसार, आगामी महिनाहरूमा क्रोमले अझ बढी डेटा प्रकारका लागि समर्थन थप्ने योजना बनाएको छ। यो घोषणा त्यस्तो समयमा आएको हो जब गूगलले कृत्रिम बुद्धिमत्तामा आधारित नयाँ ब्राउजरहरूको बढ्दो प्रतिस्पर्धाबीच क्रोममा थप उपयोगी सुविधा ल्याउँदै आएको छ।
केही हप्ता अघि गुगलले म्याक र विन्डोजका सबै डेस्कटप प्रयोगकर्ताका लागि अमेरिकामा क्रोममा जेमिनी सुविधा उपलब्ध गराएको थियो, जुन पहिले केवल गुगल एआई प्रो र गुगल एआई अल्ट्रा सदस्यहरूका लागि मात्र सीमित थियो।
त्यसै समयमा कम्पनीले भविष्यमा क्रोममा एजेन्ट क्षमताहरू ल्याउने, एड्रेस बारमा एआई मोड खोज सुविधा थप्ने, नयाँ जेमिनी फिचरहरू सुरु गर्ने, एआई–निर्मित ठगीहरू विरुद्ध लड्न एआई प्रयोग गर्ने, स्वचालित पासवर्ड रिसेट प्रणाली ल्याउनेलगायत योजनाहरू पनि सार्वजनिक गरेको थियो।
हालै क्रोममा थपिएका साना सुविधाहरूमा प्रयोगकर्ताले लामो समयदेखि प्रयोग नगरेका वेबसाइटहरूका नोटिफिकेशनहरू स्वचालित रूपमा बन्द गर्ने उपकरण र काम र व्यक्तिगत गूगल खाताबीच सजिलै स्विच गर्न सकिने फिचर पनि समावेश छन्।
प्रकाशित: १९ कार्तिक २०८२, बुधबार