क्लाउड कम्प्युटिङ कम्पनी ल्याम्ब्डा र माइक्रोसफ्टबीच बहु-अर्ब डलरको एआई पूर्वाधार सम्झौता

Technology Khabar १८ कार्तिक २०८२, मंगलवार

क्लाउड कम्प्युटिङ कम्पनी ल्याम्ब्डा र माइक्रोसफ्टबीच बहु-अर्ब डलरको एआई पूर्वाधार सम्झौता
Global IME Bank

काठमाडौं ।

क्लाउड कम्प्युटिङ कम्पनी ल्याम्ब्डाले माइक्रोसफ्ट सँग बहु-अर्ब डलरको एआई इन्फ्रास्ट्रक्चर सम्झौता गरेको छ।

एनभिडियाद्वारा समर्थित ल्याम्ब्डाले सोमबार सार्वजनिक गरेको विज्ञप्तिमा उक्त सम्झौताअनुसार कम्पनीले दशौँ हजार एनभिडिया जीपीयू तैनाथ गर्ने उल्लेख गरिएको छ। सम्झौताको कुल मूल्य खुलाइएको छैन।

यी जीपीयूहरूमध्ये केही एनभिडिया जीबी३०० एनभीएल७२ प्रणाली हुनेछन्, जुन यस वर्ष सुरुवातमा घोषणा गरिएको थियो र हालै वितरण सुरु भएको छ।

ल्याम्ब्डाका प्रमुख कार्यकारी अधिकृत स्टिफन बालाबानले विज्ञप्तिमा भनेका छन्, “माइक्रोसफ्ट र ल्याम्ब्डा का टोलीहरू मिलेर विशाल एआई सुपरकम्प्युटरहरू तैनाथ गर्दै गरेको देख्न रोमाञ्चक छ। हामीले माइक्रोसफ्ट सँग आठ वर्षभन्दा बढी समयदेखि सहकार्य गर्दै आएका छौं, र यो हाम्रो सम्बन्धको अर्को उत्कृष्ट चरण हो।”

टेकक्रञ्चका अनुसार माइक्रोसफ्टले गत अक्टोबरमा आफ्नो पहिलो एनभिडिया जीबी३०० एनभीएल७२ क्लस्टर सञ्चालनमा ल्याएको थियो। सन् २०१२ मा स्थापना भएको ल्याम्ब्डा ले हालसम्म १.७ अर्ब डलर लगानी संकलन गरेको छ। एआई प्रविधिको तीव्र विस्तारसँगै यस्ता इन्फ्रास्ट्रक्चर र कम्प्युट क्षमताको माग बढिरहेको कम्पनीले जनाएको छ।

यो घोषणा माइक्रोसफ्टले अष्ट्रेलियाली डाटा सेन्टर कम्पनी आइआरईएनसँग ९.७ अर्ब डलरको एआई क्लाउड क्षमता सम्झौता गरेको केही घण्टापछि आएको हो।

यसअघि ओपनएआईले पनि अमेजनसँग सात वर्षमा ३८ अर्ब डलरको क्लाउड कम्प्युटिङ सम्झौता गरेको र गत सेप्टेम्बरमा ओर्याकलसँग ३०० अर्ब डलरको क्लाउड कम्प्युट सम्झौता गरेको समाचार आएको थियो।

अमेजन वेब सर्भिसेन(एडब्लूएस) ले गत हप्ताको तेस्रो त्रैमासिक नतिजामा पछिल्ला तीन वर्षमा आफ्नो सर्वोत्तम प्रदर्शन गर्न लागेको जनाएको छ। यस विभागले हालसम्म ३३ अर्ब डलरको बिक्री गरेको छ।

अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी ज्यासी ले भनेका छन्, “२०२२ पछि पहिलो पटक एडब्लूएसले २०.२ प्रतिशत वार्षिक वृद्धिदरका साथ तीव्र गति लिएको छ। एआई र कोर इन्फ्रास्ट्रक्चरमा बलियो माग देखिएको छ, र हामीले पछिल्ला १२ महिनामा ३.८ गिगावाट क्षमता थपेका छौं।”

प्रकाशित: १८ कार्तिक २०८२, मंगलवार

Sajilo Visa
तपाइको प्रतिक्रिया