Technology Khabar १७ कार्तिक २०८२, सोमबार
काठमाडौं ।
अमेरिकी टेलिकम कम्पनी रिबनले सरकारी–समर्थित ह्याकर्सले कम्पनीको नेटवर्कमा करिब एक वर्षसम्म पहुँच राखेको पुष्टि गरेको छ। यो जानकारी कम्पनीले अमेरिकी सेकेरिटीज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) लाई दर्ता गरेको १०–क्यू रिपोर्ट मा दिएको छ।
कम्पनीका अनुसार शंका गरिएको “नेसन–स्टेट एक्टोर” ले डिसेम्बर २०२४ बाट कम्पनीको आईटी नेटवर्कमा पहुँच पाएको थियो। रिबनले कानुनी निकायहरूलाई जानकारी दिएको छ र ह्याकरह्यरु अब नेटवर्कमा नभएको कम्पनीको विश्वास छ।
टेकक्रञ्चका अनुसार टेक्सासमा मुख्यालय रहेको रिबन कम्पनीले फोन, नेटवर्किङ र इन्टरनेट सेवाहरू विभिन्न कम्पनी, उद्यम, र ऊर्जा तथा यातायात जस्ता महत्त्वपूर्ण पूर्वाधार संगठनहरूलाई प्रदान गर्छ। कम्पनीका ग्राहकहरूमा फर्च्युन ५०० कम्पनीहरू र अमेरिकी सरकारी एजेन्सीहरू, जस्तै रक्षा विभाग, पनि समावेश छन्।
रोयटर्सले पहिलो पटक यस घटनाको समाचार प्रकाशित गरेको थियो। रिबनकी प्रवक्ता क्याथरीन बर्थियर का अनुसार, कम्पनीका तीन ग्राहक प्रभावित भएका छन्, तर गोपनीयता कारणले कम्पनीहरूको नाम सार्वजनिक गरिएको छैन।
ह्याकरहरुले कुनै व्यक्तिगत पहिचानयोग्य जानकारी (पीआईआई) वा अन्य संवेदनशील डाटा चोरेका छन् कि छैनन् भन्ने हालसम्म स्पष्ट छैन। तर कम्पनीले दुई ल्यापटपमा राखिएका केही ग्राहक फाइलहरू पहुँच गरिएका जस्ता देखिने रिपोर्टमा उल्लेख गरेको छ। रिबनले प्रभावित ग्राहकहरूलाई सूचित गरेको छ।
रिबन पछिल्ला दुई वर्षमा ह्याक भएको धेरै टेलिकम प्रदायकमध्ये एक अन्तिम उदाहरण हो। टेक क्रञ्चका अनुसार, कम्पनीले ह्याकको जिम्मेवारी कुनै विशेष सरकारमा हाल असाइन गरेको छैन।
अघिल्लो घटनामा चीन–समर्थित ह्याकर्सले २०० भन्दा बढी अमेरिकी कम्पनीहरू, जसमध्ये फोन र इन्टरनेट प्रदायकहरू, क्लाउड सेवा प्रदायक र डाटा सेन्टरहरू समावेश छन्, निशाना बनाएका थिए। केही कम्पनीहरू क्यानाडा लगायत अमेरिकाबाहिर पनि थिए।
सल्ट टाइफून नामले चिनिने यी ह्याकरहरुको समूहले अमेरिकी अधिकारीहरूको फोन र कल डाटा चोर्ने प्रयासमा रहेका छन्। अमेरिकी सरकारका अनुसार, यी समूहहरूले चीन–ताइवानको सम्भावित भविष्य आक्रमणको तयारीको लागि अमेरिकी र यसको साझेदार देशहरूलाई लक्षित गर्दै बहुवर्षीय अभियान सञ्चालन गर्दै आएका छन्।
प्रकाशित: १७ कार्तिक २०८२, सोमबार