पोर्न साइटमा पहुँच पाउन उमेर प्रमाणित गर्नुपर्ने नियम लागू गर्ने पछिल्लो देश बन्यो इटाली

Technology Khabar १७ कार्तिक २०८२, सोमबार

पोर्न साइटमा पहुँच पाउन उमेर प्रमाणित गर्नुपर्ने नियम लागू गर्ने पछिल्लो देश बन्यो इटाली
Global IME Bank

काठमाडौं ।

यस महिनाको अन्त्यदेखि इटालीका नागरिकले पोर्न साइटमा पहुँच पाउनुअघि एक अतिरिक्त चरण पार गर्नुपर्नेछ। देशको सञ्चार नियामक निकाय एजीकमले शुक्रबार नयाँ उमेर प्रमाणीकरण प्रणाली लागू हुने घोषणा गरेको हो, जसको उद्देश्य नाबालकहरूलाई अश्लील सामग्री भएको वेबसाइटमा प्रवेश गर्नबाट रोक्नु हो।

प्रारम्भिक सूचीमा पोर्नहब, एक्सह्यम्स्टर, ‌ओन्लीफ्यान्ससहित करिब ५० साइटहरू परेका छन्।

नयाँ नियम अनुसार, प्रयोगकर्ताले आफ्नो उमेर “प्रमाणित तेस्रो पक्ष” मार्फत पुष्टि गर्नुपर्नेछ — जसमा बैंक, मोबाइल सेवा प्रदायक वा अन्य प्रमाणित कम्पनी हुन सक्छ। एकपटक उमेर प्रमाणित भएपछि, प्रयोगकर्तालाई पोर्न साइटमा प्रवेश गर्न एक विशेष कोड प्रदान गरिनेछ।

यो प्रणालीले प्रयोगकर्ताको गोपनीयता सुरक्षित गर्न “डबल एनोनिमिटी” प्रणाली अपनाएको छ — जसअनुसार पोर्न साइटले प्रयोगकर्ताको उमेर मात्र हेर्न पाउनेछ, पहिचान होइन, र तेस्रो पक्षले प्रयोगकर्ताको पहिचान मात्र हेर्न पाउनेछ, कुन साइटमा प्रवेश गर्न खोज्दैछ भन्ने जानकारी होइन।

कानुन अनुसार प्रयोगकर्ताले प्रत्येक पटक यस्तो साइटमा प्रवेश गर्न खोज्दा उमेर प्रमाणिकरण प्रक्रिया दोहोर्याउनुपर्नेछ। एजीकमले यो नियम नोभेम्बर १२ देखि लागू हुने र नियम उल्लङ्घन गर्ने वेबसाइटहरूलाई २ लाख ५० हजार युरोसम्म जरिवाना गर्न सकिने बताएको इन्ग्याजेटले उल्लेख गरेको छ।

इटाली फ्रान्सपछि युरोपेली संघ (ईयू) भित्र यस्तो नियम लागू गर्ने अर्को देश बनेको हो। ईयू बाहिर बेलायतले पनि हालै आफ्नै उमेर प्रमाणिकरण प्रणाली लागू गरेको छ, जसमा प्रयोगकर्ताले सेल्फी वा सरकारी आईडी प्रयोग गर्नुपर्छ। त्यसपछि बेलायतका प्रयोगकर्ताहरूबाट साइटमा पहुँच ७७ प्रतिशतले घटेको पोर्नहबले जनाएको छ।

प्रकाशित: १७ कार्तिक २०८२, सोमबार

Sajilo Visa
तपाइको प्रतिक्रिया