स्पेसएक्सको स्टारशिल्ड उपग्रहले अन्तर्राष्ट्रिय दूरसञ्चार मापदण्ड उल्लङ्घन गरेको आशंका

Technology Khabar १७ कार्तिक २०८२, सोमबार

स्पेसएक्सको स्टारशिल्ड उपग्रहले अन्तर्राष्ट्रिय दूरसञ्चार मापदण्ड उल्लङ्घन गरेको आशंका
Global IME Bank

काठमाडौं ।

अमेरिकी प्रसारण संस्था एनपीआरका अनुसार स्पेसएक्सले आफ्ना स्टारशिल्ड उपग्रहहरू मार्फत पृथ्वीमा त्यस्ता फ्रिक्वेन्सी प्रयोग गरेर सन्देश पठाइरहेको हुन सक्छ, जसको प्रयोग गर्न उसलाई अनुमति छैन। यो कार्यले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) द्वारा तोकिएका मापदण्डहरूको उल्लङ्घन गर्न सक्ने देखिएको छ।

स्टारशिल्ड भनेको स्पेसएक्सको स्टारलिङ्क नेटवर्कको गोप्य संस्करण हो, जुन सरकारी एजेन्सीहरूलाई “राष्ट्रिय सुरक्षा प्रयोजनका लागि” सेवा दिने उद्देश्यले विकास गरिएको हो।

इन्ग्याजेटका अनुसार यो रिपोर्ट उपग्रह ट्रयाकर स्कट टिलीका अवलोकनमा आधारित हो। उनले केही स्टारशिल्ड उपग्रहहरूले पृथ्वीबाट उपग्रहमा पठाइने “अपलिङ्क” फ्रिक्वेन्सीमा नै प्रसारण गरिरहेको पत्ता लगाए, जुन प्रयोग “डाउनलिङ्क” प्रसारणका लागि अन्तर्राष्ट्रिय रूपमा निषेध गरिएको छ।

यस्ता मापदण्डहरू विश्वभर रेडियो स्पेक्ट्रममा हुने सम्भावित हस्तक्षेप रोक्न बनाइएका हुन्। टिलीका अनुसार, “नजिकका अन्य उपग्रहहरूले त्यस्तो रेडियो-फ्रिक्वेन्सी हस्तक्षेपका कारण आदेश सही रूपमा नबुझ्ने वा आदेश बेवास्ता गर्ने सम्भावना रहन्छ।”

हालसम्म यसरी स्पेसएक्सले मापदण्ड उल्लङ्घन गर्दा ठूला समस्या उत्पन्न भएको पुष्टि भइसकेको छैन, तर विशेषज्ञहरूले सम्भावित जोखिम औँल्याएका छन्।

स्पेसएक्सको पहिलो प्रमुख स्टारशिल्ड परियोजना सन् २०२३ मा अमेरिकी स्पेस फोर्ससँग ७ करोड डलरको ठेक्का थियो। हालै २०२४ मा, स्टारशिल्ड विभागलाई अमेरिकी रक्षा मन्त्रालयको नेशनल रिकनेशाँ अफिसका लागि पृथ्वीको निगरानी गर्ने गुप्तचर उपग्रह नेटवर्क निर्माण गर्ने जिम्मेवारी दिइएको बताइएको छ।

प्रकाशित: १७ कार्तिक २०८२, सोमबार

Sajilo Visa
तपाइको प्रतिक्रिया