Technology Khabar १७ कार्तिक २०८२, सोमबार
काठमाडौं ।
स्पेसएक्सलाई अमेरिकी सरकारका लागि ६ सय ओटासम्म स्याटेलाइट विकास गर्ने जिम्मेवारीसहित करिब २ अर्ब डलरको ठेक्का दिइने तयारी गरिएको छ।
यी उपग्रहहरू मिसाइल र विमान ट्र्याक गर्न सक्षम हुने र राष्ट्रपतिको प्रस्तावित “गोल्डेन डोम” परियोजनामा प्रयोग गरिने बताइएको छ। यसबारे अमेरिकी सञ्चारमाध्यम वालस्ट्रीट जर्नलले जानकारी बाहिर ल्याएको हो।
राष्ट्रपति ट्रम्पले यस वर्ष मे महिनामा सार्वजनिक गरेको उक्त परियोजनाको उद्देश्य मिसाइल लक्ष्यमा पुग्नुअघि नै त्यसलाई रोक्ने एन्टिमिसाइल रक्षा प्रणाली बनाउने हो। यो अवधारणा इजरायलको “आइरन डोम” प्रणालीसँग मिल्दोजुल्दो मानिन्छ, तर अमेरिकी रक्षा मन्त्रालयले अझै परियोजनाका ठोस विवरण सार्वजनिक गरेको छैन।
विस्तारको हिसाबले स्पेसएक्सलाई दिइने यो ठेक्का गोल्डेन डोम अन्तर्गतका धेरै ठेक्कामध्ये एउटा हुन सक्ने अनुमान छ। रिपोर्टअनुसार एन्ड्युरिल इन्डस्ट्रिज र प्यालान्टिर टेक्नवलोजिज जस्ता कम्पनीहरू पनि विकास कार्यमा संलग्न हुने सम्भावना छ। ट्रम्प प्रशासनले यो परियोजना आफ्नो कार्यकाल सकिनुअघि सम्पन्न गर्न चाहेको इन्ग्याजेटले उल्लेख गरेको छ।
त्यसैबीच वालस्ट्रीट जर्नलले पेन्टागनले स्पेसएक्सको व्यापक स्टारलिङ्क उपग्रह नेटवर्कलाई सैन्य संचार र सवारी ट्र्याकिङका लागि पनि प्रयोग गर्ने योजना बनाइरहेको उल्लेख गरेको छ। हाल स्पेसएक्ससँग ८ हजारभन्दा बढी स्टारलिङ्क उपग्रहहरू सक्रिय अवस्थामा रहेका छन्।
प्रकाशित: १७ कार्तिक २०८२, सोमबार